नवलपरासी पूर्वमा ७१ जनामा डेंगीको संक्रमण
Published:
by .नवलपरासी । नवलपरासी पूर्वमा ७१ जनामा डेंगीको संक्रमण देखिएको छ ।
राजमार्गसँग जोडिएका बजार क्षेत्रका ७१ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले जानकारी दिए ।
प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेंगीको संक्रमण गैंडाकोट नगरपालिकामा देखिएको छ । गैंडाकोट नगरपालिकामा मात्र ५२ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।
भदौ २५ गतेसम्मको प्राप्त तथ्याङ्कअनुसार गैंडाकोटमा ५२ जना, देवचुली नगरपालिकामा १० जना, कावासोती नगरपालिकामा ८ जना र मध्यबिन्दु नगरपालिकामा एक जनामा डेंगीको संक्रमण देखिएको छ । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहहरुमा भने अझैसम्म कसैमा डेंगी भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले जानकारी दिए ।
डेंगीको संक्रमण बढ्दै गएपछि परीक्षणका लागि जिल्लामा किटको अभाव भएको स्वास्थ्य कार्यालय प्रमुख केसीले बताए । गण्डकी प्रदेश सरकारले थोरै किट पठाएकाले जिल्लामा अहिले किटको अभाव भएको उनले गुनासा गरे । प्राप्त किटहरु सकिएको र स्थानीय तहहरुले किट खरिद नगरेका कारण स्वास्थ्य संस्थामा किटको अभाव भएको छ ।
नवलपरासी पूर्वका डेंगी संक्रमितहरुको मध्यबिन्दु जिल्ला अस्पतालसहित स्थानीय अस्पताल र चितवनमा उपचार भैरहेको प्रमुख केसीले बताए ।
डेंगीको संक्रमण बढेपछि यहाँका पालिकाहरुले लामखुट्टेको बास स्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले बजार क्षेत्र लक्षित गरी विभिन्न सामुदायिक संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन् ।
Comments