व्यवस्थामाथि खतरा छैन: प्रचण्ड
Published: (Updated: )
by .विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन् ।
व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए ।पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् ।
आज विराटनगर आइपुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए । यद्यपि, अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसकोको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको उनले बताए ।
‘अहिले नै राज्य व्यवस्थाप्रति कुनै प्रकारको खतरा छैन’, विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर जुनखालको गतिविधि देखापर्न थालेको छ, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ ।’
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताए ।
अध्यक्ष प्रचण्डले भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको पनि बताए । उनले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेको भन्दै नयाँ शिराबाट गति दिने कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी गरे ।
अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनबारे प्रश्न नसोधिदिन सञ्चारकर्मीसँग आग्रह गरे । ‘मन्त्रिमण्डल पुर्नगठिन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूको कुरा हो अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो कुरा नसोधिदिनुहोस् । मलाई यो कुराले हैरान पारेको छ ।’
सञ्चारकर्मीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । प्रधानमन्त्रीले नर्मल काम गर्न थालेको भन्दै उहाँको स्वास्थ्य ठीक नभएको भन्ने प्रचार सही नभउको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको बिषयमा छलफल भइरहेको बताए । तर, उनले हिजोका दिनमा कालो दिवस भन्नेहरुमा न समर्थन न विरोध भन्ने ठाँउमा भने आएको बताए ।
Comments