धनी कसरी बन्ने, यस्तो छ उपाय
Published:
by .‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो ।
धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्यौं । हामीलाई के सिकाइयो भने, धन भन्दा विद्या ठूलो हो ।
यद्यपी विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ । त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ । यी दुबै एकअर्काको परिपूरक पनि हुन् । भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ । विहानबेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न, हिँडडुल गर्न हामीलाई धन चाहिन्छ । जीवनको सम्पूर्णता धन होइन । तर, जीवनको अपरिहार्य धन हो । आजको भौतिक समाजमा हाम्रो गुजारा मात्र होइन, सपनासँग पनि धनको साइनो छ ।तर, धनप्रति त्यती धेरै आशक्ति पनि राख्नुहुँदैन कि, जसले हाम्रो चैन विथोलिन्छ । निद्रा विथोलिन्छ । भोक हराउँछ । सुख हराउँछ ।
धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका लागि प्रयास गर्नुपर्छ । अन्याथा, गलत बाटोबाट आर्जन गरेको धनले हामी आफैलाई नष्ट गर्छ ।
कसरी धनी हुने ?
चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्याउनुपर्छ अनि केही त्यस्ता गुप्त रहस्यहरु छन् जसलाई जीवनमा लागू गर्नुपर्छ । यी गुप्त रहस्यलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले महत्वपूर्ण मानिएका छन् । के छन् त त्यस्ता रहस्यः
पहिलो रहस्यः आफू धनी छु भन्ने विश्वास
साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ । धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ, धनीहरु जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्न सुरु गर्नुपर्छ । रहनसहन एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विश्वासमा ठूलो शक्ति हुन्छ । जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ । विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन । तर विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन । यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ ऊ सदैव दरिद्र ने रहन्छ । ऊ कहिल्यै पनि धनी हुन सक्दैन । यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।
दोस्रो रहस्यः धन्यवाद दिने बानीको विकास
हरेक मानिस ईश्वरकहाँ माग्न जाने गर्छन् तर धन्यवाद कतिले दिन्छन् ? नगण्य मानिस मात्र त्यस्ता छन् जसले आफूले पाएको वा आफूसँग भएको कुनै पनि कुराका लागि ईश्वरलाई मनैदेखि धन्यवाद दिन्छन् । र त्यस्ता व्यक्तिहरु सम्पन्न छन्, धनी छन् । जीवनमा आफूलाई जेजति कुरा प्राप्त भएको छ त्यसका लागि ईश्वर, प्रकृति वा कुनै पनि व्यक्तिलाई मनैदेखि धन्यवाद दिने व्यक्ति कृतज्ञ हुन्छ र उसलाई कहिल्यै पनि कुनै कुराको अभाव हुँदैन । धन्यवादमा ठूलो शक्ति हुन्छ । यसकारण प्रतिपल धन्यवाद दिनका लागि तयार रहनुपर्छ किनभने आगामी दिनमा त झन् अझ धेरै कुरा पाइने पक्कापक्की छ ।
तेस्रो रहस्यः ईश्वर, प्रकृति वा आकाशसँग माग्ने
ईश्वर, प्रकृति वा आकाशसँग मानिसलाई दिनका लागि धेरै कुरा छन् । तर, त्यो कुरा मानिसलाई तबसम्म प्राप्त हुँदैन जबसम्म उसमा कुनै पनि कुरा प्राप्त गर्नका लागि मनको भित्रैदेखि तीव्र चाहना उमि्रएको हुँदैन । तीव्र चाहना भयो भने मागेको कुरामा शक्ति भयो भने मात्र इच्छित वस्तु प्राप्त हुन्छ । सतही ढंगले गरिएको मागमा बल हुँदैन र त्यसबाट केही पनि प्राप्त हुँदैन । ईश्वर, प्रकृति वा आकाशसँग कुनै वस्तु मागेर पक्का पनि पाइन्छ भन्ने विश्वासका साथ पर्खन सकियो भने अवश्य पनि त्यो कुरा प्राप्त हुन्छ । निश्चित रुपमा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने एउटा चीज मागिसकेपछि त्यो प्राप्त नहुन्जेल अर्को वस्तु माग्नुहुँदैन अर्थात् माग वा इच्छा फेरिरहनुहुँदैन, एक पटकमा एउटै मात्र वस्तु माग्नुपर्छ ।
चौथो नियमः वास्तुशास्त्रको नियम पालना
भनिन्छ, मानव जीवनमा तीन कुराको उत्तिकै र बराबरी महत्व छ-कर्म, वास्तु र भाग्य । यी ३ कुरामध्ये कुनै दुई कुरा मात्रै पनि प्राप्त भयो भने पनि जीवन सार्थक हुन्छ । यहाँ प्रसंग वास्तुको छ तसर्थ त्यसकै कुरा गरौँ,
घरलाई वास्तुअनुसार निर्माण गर्नुपर्छ । क्रोधको त्याग गर्नुपर्छ । बैठक कोठामा परिवारको हाँसोयुक्त तस्बिर राख्नुपर्छ । पूजास्थलमा धनवर्षा गरिरहेकी माता लक्ष्मीको फोटो राख्नुपर्छ । खाना जहिले पनि पूर्व वा उत्तरतर्फ फर्किएर खानुपर्छ । घरको पैसा राख्ने ठाउँमा तामा, पित्तल वा चाँदीका सिक्का राख्नुपर्छ । यसका साथै बेसारको चोइटो, पहेँलो कौडा, तामा वा चाँदीको सिक्का राख्नुपर्छ । घरलाई सुगन्धित बनाइराख्नुपर्छ । खल्तीमा सदैव केही सिक्का राख्नुपर्छ । प्रत्येक शनिबार पीपलमा जल चढाउने तथा सम्भव भएसम्म मंगलवारको व्रत बस्ने गर्दा धनी हुन समय लाग्दैन ।
पाँचौँ उपायः राति नोट गनेर मात्र सुत्ने
यो निकै प्रभावकारी उपाय हो । यसका लागि १०, २०, ५०, १०० वा यसभन्दा माथि जतिको सकिन्छ त्यति नोटको एक गड्डी बनाइराख्नुपर्छ । प्रत्येक रात सुत्नुअघि त्यो नोटको गड्डीलाई गन्ने र निश्चित स्थानमा राखेर सुत्ने । यस्तो कार्य कम्तीमा पनि ४५ दिनसम्म गर्ने । यसो गर्नाले जीवनमा कतै न कतैबाट धन प्राप्त हुन थाल्छ, सकारात्कताको विकास हुन्छ र पैसा कमाउने बुद्धि पलाउन थाल्छ ।
Comments