सामाजिक न्यायका लागि लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको प्रतिबद्धता
Published: (Updated: )
by .विर्तामोड । झापाका स्थानीय सरकारका प्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसहितको सामाजिक न्यायका लागि प्रतिबद्धता जनाएका छन् ।
चालु वर्षमा जिल्लाका पालिकाहरुबाट लक्षित वर्गका लागि छुट्याइएको बजेटको सफल कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको समृद्धि प्राप्तिमा अग्रसर हुने उनीहरुको प्रतिबद्धता छ ।
झापाको बिर्तामोडमा जिल्लाका पालिकाहरुका लागि सोमबार भएको ‘लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको अवस्था, चुनौति र प्रतिबद्धता’ विषयक कार्यशालामा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पालिकाका योजना तथा नीति–निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकनमा समेत लक्षित वर्गको सम्मानपूर्वक सहभागिता गराउने उनीहरुले जनाएका छन् । झापाका पालिकाका उपप्रमुख, उपाध्यक्ष, सामाजिक विकास अधिकृत, प्रतिनिधि सहभागी कार्यशालाको सहजीकरण विषय विज्ञ चन्द्र उपाध्यायले गरेका थिए । उपाध्याय त्रिवि अन्तर्गत महेन्द्र मोरङ क्याम्पस समाजशास्त्र विभाग प्रमुख हुन् । उनले सामाजिक समावेशीकरण विषयमा विद्यावारिधी गरेका छन् ।
अन्तर पार्टी महिला सञ्जाल झापाकी अध्यक्ष कमला उप्रेतीको अध्यक्षता र प्रदेश सभा सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यशालामा स्थानीय सरकारका तर्फबाट आगामी दिनमा सामाजिक न्यायका लागि अझ प्राथमिकताका साथ आवश्यक नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा प्रतिबद्धता जनाइएको छ । नागरिकका मौलिक अधिकारको सम्मान गर्दै महिला, दलित, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख जाति, पिछडावर्ग, एकल महिला, अपाङ्गता भएका व्यक्तिको विकास, सशक्तिकरण र उत्थानका लागि लागीपर्ने उनीहरुले बताएका छन् ।
‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण, समृद्धिको पहिलो चरण’ भन्ने नारा तय गरी झापाका पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमैत्री नीति कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा जोड दिन कार्यशाला आयोजना गरिएको लक्ष्मी न्यौपाने सरुले बताइन् । संवाद समूहको महिला समूह र अन्तरपार्टी महिला सञ्जालले संयोजन गरेको कार्यशालामा भद्रपुर नगरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, दमक नगरकी उपप्रमुख गीता अधिकारी, कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईं, शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल, गौरादह नगरकी उपप्रमुख गीता भेटवालले आफ्नो पालिकाको प्रस्तुतिसहित प्रतिबद्धता जनाए ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, कमल गाउँपालिकाका उपाध्यक्ष वेनुप्रसाद शिवाकोटी, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, हल्दिबारी गाउँपालिकाकी शान्ता गौतम, अर्जुनधारा नगरका दिलीप गुरुङ र चुडामणि निरौलाले समेत आफ्नो प्रस्तुतिसहित प्रतिबद्धता जनाएका थिए ।
दमक नगरका डम्बरराज बराल, मेचीनगरका अनन्तप्रकाश वस्ती, बाह्रदशीका ज्ञानबहादुर पौडेल र अमित राजवंशी, कमल गाउँपालिकाका रेनुका गौतम, भद्रपुरकी जीवनकला राउत, गौरीगञ्जकी सुष्मा कोइराला, कचनकवलका विजयकुमार राजवंशी, कन्काईका नवलकिशोर दत्तले समेत आफ्नो धारणासहित प्रतिबद्धता जनाएका छन् । सुशिला ढकालले साझा प्रतिबद्धता वाचनसहित धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत संगीता रौनियारले र सञ्चालन शारदा रिजालले गरेकी थिइन् ।
सहभागी पालिकाका तर्फबाट समावेशी, समानता, समता, आरक्षण, सामाजिक न्याय विषयमा समूह–समूहमा छलफल र प्रस्तुति भएको थियो भने आफ्नो पालिकाको लैंगिक उत्तरदायी बजेटको वर्तमान अवस्थाबारे सहभागीले स्वमूल्यांकन समेत गरेका थिए ।
सामाजिक न्यायका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा जोड दिँदै पालिकाहरुले चालु वर्षमा उक्त विषयमा विनियोजन गरेको बजेटको व्यवहारिक कार्यान्वयनलाई सहज बनाउन कार्यक्रमले टेवा पुर्याउने बताइएको छ । साथै लैंगिक उत्तरदायी बजेटलाई कार्यान्वयनका लागि लक्षित वर्गको पहुँच वृद्धि गर्न तथा बजेटलाई रकमान्तर र विषयान्तरबाट बचाउन खबरदारी गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
त्यस्तै आगामी दिनमा सामाजिक न्यायका लागि उक्त विषयका आवश्यक नीति तथा कार्यक्रम निर्माण र बजेट विनियोजनलाई अझ प्राथमिकता दिनुपर्ने कार्यशालाको निष्कर्ष थियो ।
Comments