Sajhamanch Archive

स्थानीयतहका प्राविधिक तथा जनप्रतिनिधिहरुमा इमान्दारिता नहुँदा योजनाका कामहरु गुणस्तरहीन

Published: in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेका छन् ।

नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेका भए पनि यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले इमान्दारिता देखाउन नसकेपछि ठेकेदारमैत्री काम भइरहेका हुन् ।

अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली खटाएर आयोजनाका काम गर्ने गरी सरकारले लगानी गरेको हुन्छ तर, प्राविधिक कर्मचारी ठेकेदारको इसारामा कमिशनको आडमा अलमलिँदा कमसल सामग्री प्रयोग गरी ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्ने गरेका छन् । जनप्रतिनिधिहरू पनि कुनै न कुनै रूपमा ठेकेदारको संरक्षणमा रहने गरेका छन् । निर्माणधीन आयोजनामा बढी जनगुनासा आए चर्चाका लागि कामको अनुगमन पनि गरे झैैं गर्छन् तर ठेकेदारमाथि कारवाही गर्न हिम्मत गर्दैनन् । दुई आर्थिक वर्षको मात्र तुलना गर्ने हो भने भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न भएका या निर्माणाधीन अवस्थामा रहेका अधिकाम्स भौतिक पुर्वाधारका संरचनाका गुणस्तरीयतामाथि प्रश्न उठ्ने अवस्थामा छन् । नगर सरकारको एकल लगानीमा निर्माण तथा मर्मत भएका दर्जनौ सडक, ढल लगायत मात्र हेर्ने हो भने यहाँ कार्यरत प्राविधिक किन राखिएको हो ? भन्ने प्रश्न उब्जने गर्दछ ।

पछिल्लो पटक भद्रपुर नगरपालिका कार्यालय आफैंले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको अवस्था छ । भद्रपुर वडा नम्बर ५, ६ र ८ जोड्ने सङ्गम चोकदेखि जनता चोक सम्मको सडकमा निर्माणाधीन नालामा प्रयोग भइरहेका निर्माण सामग्री कमसल पाइएको छ । सो सडक नाला तोकिएको मापदण्ड विपरीत ठेकेदारले गुणस्तरहीन बनाउन लागेपछि नगर प्रमुख श्रेष्ठ निर्माण स्थल पुगेर नाला भत्काउन लगाएको चर्चाले ठेकेदार तथा प्राविधिक कर्मचारीलाई केही झड्का लागेको अनुभूति स्थानीयमा परेको छ ।

निर्माणको क्रममा रहेको सो नाला निर्माण गरिएको दुई घण्टा नबित्दै भत्काइएको चर्चाले उल्टो सन्देश समेत प्रवाह भएको छ । एस.बी निर्माण सेवा भद्रपुर ९ ले ७७ लाख ६७ हजार ७ सय २१ रूपैयामा २०७६ असार १८ गते निर्माण सम्झौता गरी काम थालेको सो नाला निर्माण कार्यमा ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरिरहेको स्थानीय उपभोक्ताको दाबी छ । माटो मिसाएको बालुवाको प्रयोग भइरहेको अवस्थामा निर्माण ठेकेदारले बालुवा र सिमेन्टको मात्रा मापदण्ड अनुसार प्रयोग नगरी काम गरिरहेको आरोप लागेको छ । सो नालामा दुई नम्बरी इँटाको समेत प्रयोग भइरहेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले एक नम्बरी र दुई नम्बरी दुवै इँटा मिसावट गरेर निर्माण कार्यमा प्रयोग गरिरहेको आरोप छ । तर, प्राविधिक पक्षको नेतृत्व लिने निर्माण कम्पनीका इन्जिनियर र नगरपालिका इन्जिनियरले समेत इटा, बालुवा, सिमेन्टको गुणस्तरमाथि बोल्न चाहेका छैनन् ।

यता निर्माण कम्पनीले भने काम गुणस्तरीय भएको दावी गर्दै निर्माणाधीन पर्खालले सेट नलिकनै भत्काएर नगर प्रमुखले चर्चा मात्र कमाउने काम गरेको भनाइ छ ।
१ नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५।७६ मा समपूरक कोष मार्फत सङ्गम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटमार्फत नगरपालिकाले न्युनत अङ्क करिब एक करोड १८ लाख तोकेर सूचना प्रकाशन गरेको थियो । २०७६ असार १८ गते एस बी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिकाले जनाएको छ । ५४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला २०७६ पुस १९ गतेसम्ममा बनाइ सक्नु पर्ने सम्झौता भएको छ ।

नगरपालिका क्षेत्रमा मर्मत गरिएका भनिएका दर्जन बढी सडकमा पोतिएका कालोपत्रे समेत हराएपछि सडक मर्मतका काम पनि मिलीखाने प्रवृत्ति बन्दै गएको संकेत पाइएको छ । करोड हाराहारी खर्च गरेर टालटुल गरिएका अधिकाम्स सडमा पोतिएको कालोपत्रे नाम निशान विहीन बनेपछि मिलिभगत प्रवृत्ति प्रष्टिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *