Sajhamanch Archive

सवारी चालकलाई फुलमाला लगाईदिदै डिएसपी कार्कीले भने यात्रुलाई सकुशल पुर्याउनू है

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

मेचीनगर । काँकरभिट्टाबाट झापाको विर्तामोडस्थित सैनिक आँखा अस्पताल हिड्न लागेको मे १ ज १३२६ नम्बरको म्याजिक भेनलाई मंगलबार विहानै काँकरभिट्टा बसपार्कमै ट्राफिक प्रहरीले रोक्यो ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले सोहि भ्यानका चालक सत्यनारायण ताजपुरियालाई निधारमा अबिर र सयपत्री फूलको माला पहिर्याएर भने—‘यी तपाईको सवारी साधनभित्र रहेका सवै यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउने जिम्मा तपाईका काँधमा छ, उहाँहरुको जीवन पनि यहाँकै हातमा छ । यात्रुलाई सकुशल पुर्याउनू है ।’

प्रहरी नायव उपरीक्षक कार्की कुरा गम्भीरसँग सुनेका चालक ताजपुरिया पनि निक्कै भावुक देखिन्थे । उनीमात्रै होइन उनीसकै वरिपरी रहेका सवै चालक शान्तरुपमा प्रहरी नायव उपरीक्ष ककार्कीको  कुरा सुनिरहेका थिए । प्रहरी नायव उपरीक्षकका कुराले  सवै चालक निक्कै गम्भीर थिए । चालक ताजपुरियमात्र होइन उनी जस्ता दर्जनौ चालकहरु मंगलबार निधारमा अबिर र घाटीमा फूलमाला पहिरिएर गन्तव्यतिर लागे ।

सधै ट्राफिक प्रहरीको चेकजाँचबाट तर्सिएका वा प्रहरीको जाँचमा पर्ने चालकहरु निधारमा अबिर र घाटीमा फूलमाला पहिरिएर गन्तव्यतिर जानाक लागि प्रहरीले विदाई गरिरहदा निक्कै खुशी देखिन्थे । पहिलो पटक प्रहरीबाटै सम्मान पाएकोमा चालकहरु पनि दंग थिए ।

प्रहरी नायव उपरीक्षक कार्की, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, मेची सामुदायिक प्रहरी सेवा केन्द्र मेचीनगरका अध्यक्ष बुद्घिनाथ पौडेल ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रलगायतले चालकहरुलाई पालैपालो फूलमाला लगाएर सचेत गराएका थिए । चाडपर्वका बेला दुर्घटना हुन नदिन इलाका प्रहरी कार्यालय काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट र मेची समाुदायिक प्रहरी सेवा केन्द्र मेचीनगरले संयुक्तरुपमा प्रहरी —समुदाय साझेदारी कार्यक्रम अन्तर्गत चालक सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

दुर्घटनाका कारण संयौको घरवार उजाडिएका घटना सुनाउँदै प्रहरी नायव उपरीक्षक कार्कीले दुर्घटनाकै कारण थुप्रैको जीवन अपांग भएर जीवन मरनको दोसाधमा रहेर मर्नु न बाच्नु सरह बनेको कुरा सुनाउदैं गर्दा सहभागी धेरैका आँखा रसाएका थिए । हरेक चालक आफ्ना सवारी साधन भित्र रहेका यात्रुका लागि भगवान रहेको र आफ्ना भक्तहरुलाई मन्दिरमा दर्शका लागि सरक्षितरुपमा पुर्याउनु भगवानको कर्तव्य भएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई थियो । विगतका कुरा सवै विर्सेर अब हरेक चालकहरु  आसन्न चाडपर्वहरुलाई दुर्घटनारहित बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । चालकहरुले पनि सम्मानले आफूहरुलाई थप सचेत नबाएको बताए ।

अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले  सुरक्षित यात्राको शुभकामनासहित क्षमताभन्दा बढी यात्रु नओसार्न, यात्राका क्रममा मदिरा सेवन नगर्न र यात्रुहरुसँग नम्र भएर प्रस्तुत हुन चालक, सहभाल तथा परिचालकहरुलाई आग्रह गरेका थिए । सवारी साधनको अवस्था समय समयमा दुरुस्त रहेको नरहेको चेकजाँच गर्न, यात्रुहरुको सख्या, नाम र ठेगानाको अभिलेख राख्न, चालकले सवारीको गन्तव्य, लाग्ने समय, रोकिने स्थानहरुको बारेमा प्रस्थान हुनु पूर्व सवैलाई अनिवार्य सवै जानकारी दिन, यात्रुहरुसँग मित्रवत व्यवहार गर्न, यात्रुमैत्री, गति सिमित गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, यात्रुहरुको सामानहरुको सुरक्षाको प्रवन्ध मिलाउन, छुटेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन, सिट क्षमता भन्दा बढि तथा छतमा यात्रु नराख्न, घटना सम्बन्धमा तत्काल जानकारी दिन र सम्पर्क गर्ने कुरामा चालक तथा परिचालकले ध्यान दिनुपर्ने बताए ।

सवारी साधनमा यात्रा गर्दा आफ्नो सरसामानहरुको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, ज्येष्ठ नागरिक, महिला बालबालिकालाई सम्मान गर्नै, मादक पदार्थ सेवन गरेर यात्रा नर्गाे, अनावश्यक हरकत, हलल, क्रियाकलाप नगर्ने, चालक तथा सह चालकले मादक पदार्थ सेवन गरेको थाहा पाए तुरुन्त प्रहरीलाई जानकारी गराउने, मुल्यवान वस्तु लगाएर सकेसम्म यात्रा नगर्नेलगायतका कुरामा यात्रुले ध्यान दिनुपर्ने रेग्मीले बताए ।

चालकहरुकै लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले अझै प्रभावकारी कार्यक्रमहरु ल्याउनुपर्ने ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रको भनाई छ । उनले सरकारले गरेको यस्तो सिर्जनशील जनचेतनामूलक कामले हरेक चालकहरुलाई आफ्नो जिम्मेवारप्रति इमान्दारीपूर्वक सजग रहन प्रेरणा र हौसला मिल्ने बताए ।

निधारमा अबिर र घाटीमा फूलमाला पहिरिएर बसेका मे १ ख १९५९ नम्बरका चालक उदयलाल राजवंशी आफुले अहिलेसम्म दुर्घटना नगरेको बताए । उनले यो सम्मानले आफूजस्ता अन्य चालकहरुलाई सजग रहन हौसला मिलेको प्रतिक्रिया दिए  । चालक राजवंशीले जानी जानी कसैले पनि दुर्घटना नगर्ने बताए । लापरबाहीका कारण हुन सक्ने दुर्घटनाप्रति चालक सचेत हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा सवारी चालक यात्रु र सर्वसाधारणलाई सचेतनामुलक पर्चासमेत वितरण गरिएको थियो । चालकहरुले भने निधारको अबिर र सयपत्री फूलको मालाले आफूहरुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन मेची समाुदायिक प्रहरी सेवा केन्द्र मेचीनगरका महासचिव गंगा कोइरालाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *