Sajhamanch Archive

प्रदेशको नामाकरण टुंगो नलाग्दा मुख्य मन्त्रीको बिहे प्रभावित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर  । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको बिहे यसपालीको हिउँदमा पनि नहुने भएको छ । प्रदेशको राजधानी र नामाकरण टुंगो लगाएपछि मात्र बिहे गर्न घोषणा गरेका मुख्यमन्त्री राईको बिहे प्रदेशसभाको नामाकरण टुंगो लाग्न बाँकी नै रहेकोले यसपालीको हिँउदमा पनि नहुने भएको हो ।

प्रदेश १ सभाको तेस्रो अधिबेशनमा मुख्यमन्त्री राईले सहमतिबाट प्रदेशको स्थायी राजधानी विराटनगर घोषणा गराएका थिए । तर, चौथो तथा बजेट अधिवेशनमा प्रदेशको नामाकरण टुंगो लगाउने भने पनि प्रस्तावन नै दर्ता भएन । चार दशक पारगरिसकेका मुख्यमन्त्री राईले अझैसम्म घरजम गरेका छैनन् । तपाईँ कहिले बिहे गर्नुहुन्छ भन्ने पटक–पटकको पत्रकारहरूको प्रश्नमा उनले सबैलाई सधै एउटै उत्तर दिने गरेका छन्, ‘प्र्रदेशको नाम र राजधानी टुंगो लगाएपछि लगत्तै धुमधामले गर्नेछु ।’

कसैसँग प्रेम सम्बन्ध नरहेको बताउने मुख्यमन्त्री राईले निरन्तरको राजनैतिक व्यस्तताले गर्दा आफूले बिहेबारे सोच्ने फुर्सद नपाएको तर प्रदेशको नाम र राजधानी टुंगो लगाइसकेपछि चाहिँ आफ्नो परिवारका सदस्यहरूको सुझावअनुसार धुमधामले बिहे गर्ने बताउदै आएका छन् ।

आफ्नो जीवनको एउटा पाटो अधुरो रहेको बताउने मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएपछि धुमधाम साथ बिहे गर्ने र पत्रकारहरूलाई पनि बोलाएर सगुन खुवाउने वचन दिएका छन् । उनले प्रदेशको राजधानी र नामाकरणले गर्दा आफ्नो कार्ययोजना र कामको क्यालेन्डर तलमाथि पर्न जाँदा सोचेअनुसार हुन नसकको बताउँदै आएका छन् । भोजपुरको आमचोक गाउँपालिका स्थायी बासिन्दा मुख्यमन्त्री राई यसअघि केन्द्रीय सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पनि भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *