सप्तरङ्ग संगीत यात्रा कात्तिक २० गते विर्तामोडबाट सुरु हुने
Published: (Updated: )
by .विर्तामोड । सप्तरङ्ग संगीत यात्रा यही कात्तिक २० झापाको विर्तामोडबाट सुरु हुने भएको छ ।
ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड रहने ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले जानकारी दिए ।
बुधबार विर्तामोडमा पत्रकार सम्मलेन गर्दै घिमिरेले उक्त संगीत यात्राको आयोजना पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि गरिएको बताए । उनले भने, ‘कलाकारिताको माध्यमबाट सबै प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि यो संगीत यात्रा आयोजना गरिएको हो ।’
संगीत यात्राका कार्यक्रम सबै प्रदेशका एक÷एक स्थानमा हुने उनले बताए । प्रदेश नं १ को विर्तामोड, प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगरमा हुने उनले जानकारी दिए । उनले भने, ‘देश संघीय संरचनामा गएपछि स्थापित प्रदेशहरुलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो ।’
संगीत यात्राको समापन मंसीर ४ हुने घिमिरेले बताए । सबै कार्यक्रमहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने उनले जानकारी दिए । प्रदेश नं १ को विर्तामोडमा हुने कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उनले बताए । उक्त कार्यक्रम हेर्न दर्शकका लागि कुनै शूल्क नलाग्ने उनको भनाइ थियो । घिमिरेले भने, ‘हामीसंग आवद्ध भएका कम्पनीहरुले गरेको प्रायोजन तथा सहयोगबाट नै कलाकारहरुलाई पारीश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’
तर संगीत यात्राका कार्यक्रमहरुमा धुमपान र मध्यपानका विज्ञापन नराखिने उनले बताए ।
प्रदेश नं १ को विर्तामोडमा कात्तिक २० हुने कार्यक्रम विर्तामोड मुक्तिचोक पूर्व सुगम पेट्रोल पम्प नजिकको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुने स्थानीय आयोजक विकास घिमिरेले जानकारी दिए । यो यात्रा दोस्रो संस्करण हो । गत साल पनि ग्रीस्म ब्रोडकास्टिङले सातै प्रदेश सोही किसिमको यात्रा आयोजना गरेको थियो ।
Comments