चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै
Published: (Updated: )
by .काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ आज ( शनिबार ) दिउँसो नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आउँदै छन् ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । दुई दशकपछि चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई नेपालले विशेष महत्व दिएको छ ।
यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।
शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । शनिबार साँझ नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्ने छन् ।
आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुई पक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यस्तो छ सीको सवारी रुट
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण अवधिमा आवतजावतमा सर्वसाधारणलाई समस्या हुने देखिएको छ । राष्ट्रपति सीसहितको टोली शनिबार विमानस्थलमा अवतरण गरेपछि तीनकुने, बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल प्रस्थान गर्नेछ ।
त्यहाँ केहीबेर आराम गरेपछि सी सोल्टीमोड, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै शीतलनिवास पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुनेछ । चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबारै शीतलनिवासमा भेटवार्ता हुनेछ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।
सवारी आवागमनलाई लक्षित गर्दै सरकारले आइतबार भने सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीको स्वागत र कार्यक्रमका लागि सबैखाले तयारी पूरा भएको जानकारी दिएका छन् ।
उनका अनुसार विशिष्ट व्यक्ति सुरक्षा कार्य्विधि ऐन, २०७० अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । चिनियाँ राष्ट्रपति सी र अन्य भिआइपी सवारी हुने क्षेत्रमा शुक्रबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘छिमेकी देशबाट अतिविशिष्ट पाहुना आउँदा विगतमा जुन किसिमको तयारी हुन्थ्यो, अहिले पनि त्यही भएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘सर्वसाधारण मर्कामा नपर्ने गरी हामीले तयारी गरेका छौं ।’
Comments