चीन जोड्ने ओलाङचुङ्गोला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो
Published:
by .ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो ।
गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चार वटा मेशिनमार्फत ओलाङचुङ्गोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्रयाक खोलिसकिएको छ । एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेशिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो ।
यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्रयाक खोलिसकिएको छ भने दशैं बिदामा निस्किएका कामदार समेत फर्किएर काम शुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए ।
पाँच वटा ठूला मेशिन लगाएर काम गरिरहेको उनको भनाइ छ । लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्षभित्रै ओलाङचुङ्गोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिने छ ।
जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ । अब झण्डै २० किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।
उता दुई वर्षअघि नै चीनको तिब्बतबाट ओलाङचुङ्गोला बस्तीसम्म ट्रयाक खुलिसकेको छ । स्थानीयको समेत लगानी रहेको टिपतालादेखि ओलाङचुङ्गोला बस्तीसम्मको झण्डै २१ किलोमिटरको ट्र्याक खोल्न झण्डै रु तीन करोड लागेको थियो ।
सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने ओलाङचुङ्गोलामा हाल बसोबास गरिरहेका र यहाँ जन्मिएर देश तथा विदेशमा रहेकाले पैसा जम्मा गरी बाटो खनाएका थिए । चाँडै गाडी चढ्ने सपनासहित आफै लगानी गरेर सडक खनाएका स्थानीय सर्वसाधारणले भने उक्त सडकमा अझै गाडी चढ्न पाएका छैनन् ।
छोटो दूरीमा नै प्रदेश नं १ लाई दुई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने रणनीतिक महत्वको सडक भए पनि निर्माण कार्य भने कछुवाको गतिमा रहेको भन्दै स्थानीयवासीले गुनासो गर्ने गरेका छन् । पूर्वको समृद्धिसँग जोडिएको यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्नेमा स्थानीयवासीको जोड छ ।
छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक सञ्जालले जोड्ने सरकारको योजनाअनुसार लोकमार्गको ट्र्याक खोल्ने काम शुरु भएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको बताइएको छ । यो सडक निर्माण पूरा भए ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंची, चिराइतोलगायतका जडीबुटी चीन र भारत निर्यातमा सहज हुने स्थानीय व्यवसायीहरु बताउँछन् ।
Comments