Sajhamanch Archive

शताक्षीधामको कोटिहवनमा राष्ट्रिय चासो, राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहवन सरकारी स्तरबाटै हुने भएको छ ।

महाभारतकालीन इतिहाससँग जोडिएको शताक्षीधाममा आयोजना हुन लागेको कोटिहवन सञ्चालनका लागि झापाका १५ वटै स्थानीय तह तत्पर भएपछि सरकारी स्तरबाटै कोटिहवन हुन लागेको बताइएको छ । यस अघि गोलोक गोवद्र्धन गौशालाले कोटिहवनको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौशालाले जिल्लाका सबै स्थानीय सरकारसंँग यस अघि गरेको छलफलले उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिएका छन् ।

शिवसताक्षी नगरपालिकामा बुधबार झापा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले शताक्षीधाम धार्र्मिक महोत्सव एवम् १०८ कुण्डको कोटिहवन मूल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा सह संयोजक रहेको सो समितिमा सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा सदस्य सचिव चयन भएका छन् ।

जिल्लाका १४ वटा स्थानीय तहका प्रमुख र १५ वटै स्थानीय तहका उप प्रमुख आयोजक समितिको सदस्यमा चयन भएका छन् । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणा र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश राज नालीसहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख कोटिहवन आयोजक मूल समारोह समितिको सदस्यमा चयन भएका छन् ।

त्यसै गरी झापाको निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका संघीय सांसद र जिल्लाका १० वटै प्रदेश सभाका सदस्य सल्लाहकार समितिमा चयन भएका छन् । यही कार्तिक २७ देखि मंसिर ९ गतेसम्म आयोजना हुने शताक्षीधाम धार्मिक महोत्सव एवम् १०८ कुण्डको कोटिहवनको उद्घाटन नवगठित आयोजक समितिले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने गरी आजैदेखि तयारी सुरु गरेको आयोजक समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना हुन लागेको सो कार्यक्रममा श्रीमद्देवीभागवत संगीतमय कथासमेत हुने कुराको जानकारी गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष तथा शताक्षीधाम धार्मिक महोत्सव एवम् १०८ कुण्डीय कोटिहवनका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले दिएका छन् ।

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा झापामा भने स्थानीय तह मिलेर धार्मिक महोत्सवको आयोजना गर्न लागेका हुन् । ‘यो कार्यक्रमले विश्वमा विशेष महत्व राख्छ,’ आयोजक समितिका संयोजक सोम पोर्तेलले भनेः ‘कोटिहवनकै माध्यमबाट झापाका पर्यटकीय क्षेत्रमा हामी ३० हजार विदेशी पर्यटक भित्र्याउने तयारी गरेका छौं ।’

आयोजक समितिका सह संयोजक तथा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा सरकारी स्तरबाट आयोजना हुन लागेको यस्तो कार्यक्रमले नेपालीको परम्परा रीतिरिवाज, मौलिकता र धार्मिक एकता कायम राख्ने बताए । उनले भनेः ‘शिवसताक्षी नगरकै भूमिमा जिल्लाका सबै स्थानीय तहहरु मिलेर आयोजना गर्न लागिएको कार्यक्रमले नगरको पहिचान स्थापित हुने र जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार हुने छ ।’

शताक्षीधाममा आयोजना हुने धार्मिक महोत्सवमा विदेशका १५ सय विशिष्ट पाहुना र ३० हजार सर्वसाधारण पर्यटक आउने आयोजकको लक्ष्य रहेको छ । यस्तै नेपालका करिब ५लाख आन्तरिक पर्यटक शताक्षीधाममा आउने वातावरण हुने आयोजक समितिका सह संयोजक शेर्माले बताएका छन् । ‘शिवसताक्षी नगरमै राष्ट्रिय स्तरको धार्मिक कार्यक्रमले झापाको मात्र होईन मुलुककै गौरव बढ्नेमा विमती छैन’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *