शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अजरबैजान प्रस्थान
Published:
by .काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) बिहान साढे ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका छन् ।
शुक्रबारबाट शुरु हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय गरिएको छ । ओलीले शनिबार सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
अजरबैजानको बाकुमा नाम सम्मेलनको साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन् । मुडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग पनि भेटघाट गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
असंलग्न राष्ट्रहरुको समूहमा १२० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन् ।
दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो ।
Comments