लक्ष्मीको लोभ नगर्ने सरस्वतीका वरदान
Published:
by .कल्पनाका बादशाह भनौं या सरस्वतीका वरदपुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वलाई नसम्झने कमै होलान्। घर, चोक, आँगन सिँगारिएका बेला सायद बत्तीको झिलीमिलीको रौनकसँगै १९६६ विक्रमाब्द कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको प्रेरणाले थुप्रैलाई कवि बनायो। भनिन्छ, उनी चौध भाषा बुझ्थे। नेपाली साहित्यका महापण्डित उनले मूलतः नेपाली, संस्कृत, अंग्रेजीदेखि नेवारी, बंगाली, उर्दू, फ्रेन्च, जर्मनी र रसियनसमेतका भाषामा कविता लेखे।
लेखेर कहिल्यै नथाक्ने उनका साहित्य धारासँग आज कसले प्रतिस्पर्धा गर्ला र तर नेपाली साहित्यले सदा गर्व गर्ने कालजयी प्रतिभासँग पढिरहन्छ, सिकिरहन्छ, प्रेमले टाउको अड्याइरहन्छ। आदिकवि र कविशिरोमणिलाई श्रद्धा गर्न र झुक्न नचुक्ने देवकोटाको युग जन्माउने खुबीलाई नेपाली साहित्यले मुक्तकण्ठले प्रशंसा गर्छ। तब त उनले भने, ‘हामी भानुभक्त पढेर शिक्षा सुरु गर्छौं र उनलाई हेला गरेर समाप्त गर्छौं।’
माता अमर राज्यलक्ष्मीदेवी र पिता पं. तिलमाधवका साइँला छोरा जसले कालजयी इतिहासका ओजश्वी व्यक्तित्व बनेर एउटा युगलाई जन्माइदिए। अरू युगमा जन्मिन्छन् तर उनले स्वच्छन्दतावादी भावधारालाई सिंगै डोर्याए, हुर्काए र जीवन्त तुल्याए। उनको नाम नेपाली साहित्यबाट झिकिदिने हो भने साहित्य नै अपूरो र अधुरो बन्छ।
दासताले चिमोटिरहँदा कवित्वको झरना छङ्किरह्यो। अभावले धकेलिरहँदा निबन्धका फोहोरा फुटिरहे। १० वर्षकै उमेरदेखि करिब ४ दशक कविता यात्रामा होमिएका देवकोटा बहुमुखी प्रतिभा हुन्। कवितापछि दोस्रो स्थानमा निबन्ध विधालाई शिरोधार्य गरेका उनले ६५० बढी फुटकर कविता लेखे। ३६ वटा खण्डकाव्य तथा ६ वटा (कतै ७ पनि भनिन्छ) त महाकाव्य नै रचना गरे। उनका ४ वटा निबन्ध संग्रह, दुईटा नाटक, एउटा कथा संग्रह, एउटा उपन्यास र तीनवटा समीक्षा–समालोचना उपलब्ध छन्।
नरेन्द्रराज प्रसाईको ‘देवकोटाको जीवनशैली’ पुस्तकका आधारमा हेर्दा देवकोटाले कति कृति लेखे उनी स्वयंलाई थाहा नभएको कुरा उनले शंकर लामिछानेलाई भनेका रहेछन्– ‘खै ! मैले कति लेखेँ त्यो त मलाई थाहा छैन किनकि सयकडा पचहत्तर कृतिहरू हराए। पच्चीसको मलाई राम्रो सम्झना छैन।’ पूर्वीय र पाश्चात्य दर्शनको घुलनका साधक जसले संस्कृतका ‘अमरकोश’, ‘रघुवंश’ लगायतका कृति पढे, सेली, कलरिज, सेक्सपियर, वाइरनदेखि मोन्तेनसम्मलाई नियाले। पूर्वलाई पश्चिममा चिनाए। त्यसैले त डा. ल्यूदमिला आगानानीले भनेकी रहिछन्–‘देवकोटाको प्रतिभाले नेपालबाहिर पनि प्रशंसा प्राप्त गर्यो।
उनी सोभियत संघमा पनि प्रख्यात भए।’ अनि आशुकवित्वको खहरेबाट एकै रातमा ‘कुञ्जिनी खण्डकाव्य’ जन्माए। दश दिनमै ‘सुलोचना महाकाव्य’ मात्र होइन नेपाली साहित्यमा आइसल्यान्डको सर्पजस्तै अवस्थामा तीन महिनामै अनुपम लेखनशिल्पीमा ‘शाकुन्तल महाकाव्य’ लेखे।
भनिन्छ, देवकोटा साह्रै सोझा थिए जसले बिहे गरेर ससुराली जाँदा छ रुपैयाँको जुत्ता नै हराएकाले आफ्नो बुबाको गाली खाएका थिए। वासुदेव शर्मा लुइँटेलले देवकोटा ढुंगेधारामा पानी खान निहुरेको बेला ‘स्वागतम्’ शीर्षकको कवितालाई देवकोटाको खल्तिबाट सुटुक्क निकालेर आफ्नो नाममा ‘गोरखापत्र’ मा छपाएको कुरालाई सम्झेका छन्।
देवकोटालाई फकाएर कवि बन्ने, अझ मासुभात खुवाएर किताबै चोरेर आफ्ना नाउँमा छपाउनेलाई चिनेको कुरा लुइँटेलले गरेका रहेछन्, लेखक प्रसाईको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ। साह्रै सामान्य पहिरनमा बस्ने उनको जीवनघात प्रतिघातको अग्निज्वालामा पिल्सिँदा खुला हृदयको मुहान धमिलिएन। जालसाजी गर्न नजान्ने उनलाई देवत्वका प्रतीक भनी विद्वान्ले प्रशंसा गर्छन्। घरमा बस्दा माग्नेजस्ता देखिने उनी बाहिर निस्कँदा खुब रमाइला हुन्थे रे।
एकखालका लहडी पनि जसले चर्पी जाँदा बारुलाले चिलेकाले ‘बारुलालाई कारबाही गरी पाऊँ’ भनी प्रहरीमा उजुरी दिएका थिए। उनको उदारवादी व्यवहार र अर्धपागलपनाका कारण धेरैले फाइदा लिएका थिए। लैनो भनेर थारो भैंसी भिराए, लैनो भैँसी पनि पछि चोरी भएछ। तर, उनी भने अर्काको नखाने बरु आफ्नो चाहिँ सर्वश्व दिने मान्छे। हो उनी, गरिबीले थिचेकाले टालेको तन्नामा सुत्थे। भ्वाङ परेको झुलमा सुते पनि पैसा हुँदा खर्च गर्ने सोखले कहिल्यै जीवनको सन्तुलन भएन।
भावनामा डुब्नाले र गरिबीको बेहोसीपनाले उनी थिल्थिलिएका रहेछन्। यो कुनै बनावटी कल्पना थिएन, नौटंकी होइनथ्यो। त्यसैले त उनलाई गरिबीसँग जन्माएर गरिबीमै मारेकाले सायद अरूसँग अमिल्दा देखिए। श्रीमती मनदेवीले सन्तानको भोकलाई मार्न चामलमा ढुटो मिसाएर ख्वाएका सम्मका वेदना र प्रताडनाले थिचेका हृदयविदारक घटना थिए। मानौं देवकोटा र गरिबी आपसमा पर्याय थियो। गरिबीले थिचेकैले बटुवाले जाडो भयो भन्दा आपूmले लगाएको कोट नै दिए।
आफू जाडाले काम्दै घर आए। अझ महिना दिनको तलबै बाटाको माग्नेलाई सुम्पिएर रित्तो हात घर फर्के। सायद यस्तै विविध कारण र पृथक व्यवहारका कारण राँची पुर्याइएका देवकोटाले व्यंग्य गर्दै साथीहरूसँगको असहमतिमा ‘पागल’ कविता लेखे ः
…..मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्दछौ, म छैटौँले
तिम्रो गिदी छ साथी ! मेरो मुटु
तिमी गुलाफलाई गुलाफ शिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्मिनी पाउ“छु।……….
दर्शनको घुलनमा अवस्थाको फोटोचित्र प्रदर्शित आशुकवित्वको झझल्को यसमा स्पष्ट झल्किन्छ। दासताको आर्तनादभित्र ईश्वरीय सिंहनाद गर्जाउने खुबीसँग शासकीय कठोरता शनै शनै हार्यो नै। अथक परि श्रमले नेपाली साहित्य जाग्यो। नेपालीपनमा खोजमूलक भावना मिसियो। प्रकृतिका हाँगाबिँगा नियालेर चौतारीमा सुसेली हाल्ने गरिब किसानको ढुकढुकी छाम्ने गुणले नेपालीत्व मौलायो।
देशप्रेम र स्वाभिमानको ज्योति चम्कियो। मानवता बोल्यो। न्यायको पोको खोल्यो। तब त देवकोटाले बालकृष्ण समसँग ठट्टिँदै भनेका रहेछन्, ‘म हजुरहरूको राणातन्त्रकै विरोधमा पनि लेखिदिन सक्छु। त्यो मैले लेखेको कुरा हजुरहरूलाई नै पनि थाहा हुनेछैन।’ अनि उनले लेखिदिएछन्– लुत्ते कुकुर।
घरका साहिँला छोरा जसलाई बुवा र जेठो दाजुबाट शिक्षाको आधार मिल्यो। १०÷१५ मिनेटमै ‘दरबार स्कुल’ शीर्षकको कविता लेखी ‘कोपिलाउँदो कवि’ को उपाधि पाएका देवकोटाले त १० वर्षमा दुई हरफे कविता लेखिसकेका रहेछन् :
‘घनघोर दुःख सागर जान भाइ
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई।’
आखिर मृत्युशय्या २०१६ मा पनि कविताविहीन नभएका कविको लेखनी बगेकै रहेछ :
‘संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरि बिलाएँ।’
‘रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक।”
जीवन दर्शनले जीवन र जगत्लाई पारदर्शी बनाउँछ। जीवनलाई गरिबी र अभावमा थपिएको प्रताडित वज्रपातसँग पनि सिर्जनशील बनाउने खुबी कमैमा हुन्छ। सायद साहित्य सुधामा रम्ने वरदान प्राप्त मानिसमा हुन्छ। अपमानको पोकोलाई पनि कवित्वमै सुल्झाउने गुण हुन्छ। कोइलाबाट हीरा बनाउने खुबी हुन्छ। त्यसैले पनि होलाउनी गुजारा चलाउनैका लागि दिनकै १८ घण्टासम्म ट्युसन पढाउँथे भनिन्छ। प्रसाईले उल्लेख गरेका आधारमा हेर्दा पं. श्यामदास वैष्णवका अनुसार देवकोटाले एक घण्टामा सरदर साठी पृष्ठको किताब पढ्थे। पढ्दा पढ्दै समय बितेको होस हुँदैनथ्यो।
एकातिर पारिवारिक दयनीय अवस्था अर्कातिर पढाइ, अझ अर्कातिर राजनीति अप्ठेरोपना अनि स्वाभिमानमा हार्न नसक्ने उनको स्वभाव आखिर उनलाई जागिरे जीवनमा स्थायित्व भएनछ। २४ वर्षको उमेरमा वि.सं. २००० भदौ ११ गते नेपाली भाषा परिषद्मा पाठ्यपुस्तक लेखकका रूपमा नियुक्त भएका उनी २००३ साल असार १२ गते त्रिचन्द्र कलेजका अंग्रेजी शिक्षक भए। २०११ मा पद्मकन्या कलेजमा, २०१२ मा कमर्स कलेजमा प्राध्यापक भए।
राजनीतिक कोणबाट हेर्दा २००९ र २०११ सालमा राजा महेन्द्रबाट तत्कालीन सल्लाहकार सभामा नियुक्त भएका उनी वि.सं. २०१४ साउन ११ गते स्वायत्त शासन मन्त्री भई ११० दिनसम्म मन्त्री बन्दा त्रिभुवन विश्वविद्यालयका लागि पाँच हजार रोपनीभन्दा बढी जग्गाको व्यवस्थापन तथा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाए। यसर्थ पनि उनको चातुर्यताले नेपाली माटो र राष्ट्रियतालाई बोध गराउँछ। व्यक्तिगत सुख सुविधा बिर्सेर नेपाली मुटुको स्पन्दन बनेका उनका अघि आर्थिक संकटको कहालीलाग्दो वेदना थियो नै तर लक्ष्मीको लोभ थिएन। सरस्वतीको सीमा थिएन।
हो, प्रकृति, ईश्वर र मानवको त्रिकोणको घुलनमा जीवनको मीठासता हुन्छ। वेद र विद्वता देखाउने भन्दा जनाउने सत्यमा अडिन्छ। आध्यात्मिकता र भौतिकताको विराट चिन्तनको सागरमा कालीदासदेखि रूसोसम्मको विचार छचल्किन्छ। सायद पूर्वीय दर्शनको चार्वाक दर्शन घुसेको पनि हुँदो हो या त गीताको रहस्य छिरोलिएको हुँदो हो। अनि, यो दुनियाँको जाली व्यवहारबाट आजित भएरै होला, उनले लेखे– ‘विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ। भलाद्मीको प्रमाणपत्र सधैं उसको शरीरउपर विज्ञापन जाहेरी गर्दछ।’
स्वच्छन्दतावाद र प्रगतिवादको आकारभित्र कागज नभेट्दा भित्तामा कविता कोरिन्थे। आखिर आशुकवित्वको बहाव कति तेजिलो हुँदो हो ! किताबका पानामा हराउने उनको आदतै अचम्मको जो पढ्दापढ्दै निदाउँथे। फेरि उठेर पढ्थे। कोमलतामा हार्दिकताले अँगालो हालेपछि स्वर्गीय सुखानुभूति आफैंभित्र हुन्छ। मानिस ज्वरशमना प्रकृतिभित्र हराओस् या प्रश्नोत्तरमा आखिर जीवनको दर्शन त खोतल्छ नै। तब त समले भन्न भ्याएछन्, देवकोटा ः मुनामदनमा, पागलमा र शाकुन्तलमा गरी तीन पटक जन्मिए।
हो, आत्मिक प्रेम र कला सौन्दर्य अमर हुन्छन्। मानवताको पूजारीले ग्रामीण जनजिन्दगानीको सोझोपनमा बोक्रे अङ्ग्रेजी लवजभित्र आमाको ममता भोग्दैन। दहीचिउराको स्वाद चाख्ने पोथी गद्यमय निबन्धका फाँटमा झुलेका बालासँग रमरम बौद्धिकताको आँचल अल्झिन्छ र भन्छ– जीवनको रहस्यलाई ‘यात्री’ कवितामा खोज्न नभुल। लघु, मध्यम र बृहत् रचनाशिल्पीमा कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, नाटक, कथा, उपन्यास, गीत र समालोचनाको विविध आयामभित्रको विविधताले अपूरणीय, अतुलनीय योगदान पाउँदा नेपाली साहित्यको शिर उँचो छ। नेपालीको दिल भरिभराउ छ। शिक्षाको मियोमा लौह जडित आँट स्थापित छ। गद्य र पद्य दुवैमा दखलताको बहुआयामिकता छ। तब त समुद्रपारीका सर्जकले देवकोटाको जन्मलाई भौगोलिक त्रुटिको भावमा लोभी बनेर व्याख्या गर्न चुक्दैनन्।
सायद जीवन र मृत्युलाई चिन्ने उनको अनुभूति पोखिइसकेकै थिएन। गरिबीबाट माथि उक्लेपछि अझ कति बग्ने रहर थियो तर अल्पायुमै २०१६ सालमा ४९ वर्ष १० महिना २ दिन मात्र बाँचेर उनले यो संसारलाई छोडे। आखिर लेखक कृतिसँगै जन्मन्छ र मर्छ तर पाठकसँग बाँच्छ किनकि पाठक जन्मिरहन्छन्। आजसम्म पनि देवकोटा जीवन्त छन्। उनको बहुआयामिक सक्षमता सम्माननीय, मननीय, अनुकरणीय छ। हाइलाइट
व्यक्तिगत सुख सुविधा बिर्सेर नेपाली मुटुको स्पन्दन बनेका लक्ष्मीप्रसाद देवकोटासामु आर्थिक संकटको कहालीलाग्दो वेदना थियो नै तर लक्ष्मीको लोभ थिएन। सरस्वतीको सीमा थिएन।
अन्नपूर्णबाट ।
Comments