भद्रपुरको छैठपूजा नेपालकै भव्य
Published:
by .झापा । प्रदेश १ कै ठूलो जनसहभागिता रहने छठपूजा स्थलका रूपमा परिचित भद्रपुरको मेची नदीमा भव्यताका साथ छठ पूजा सम्पन्न गरिएको छ । सबै जातजातिको प्रतिनिधित्व हुनेगरी समावेशीरूपमा गरिएको पूजामा हिजो अस्ताउँदो सूर्यलाइ अर्घ दिई सुरू भएको पूजा आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो ।
भद्रपुरस्थित मेची पूलको उत्तर दक्षिण झण्डै तीन किलोमिटर क्षेत्रमा वारिपारी गरी हजारौं पूजा मण्डप बनाएर पूजा स्थल निर्माण गरी विभिन्न जात, वर्ग र सम्प्रदायका मानिसले समावेशीरूपमा पूजा सम्पन्न गरेका हुन् । नेपाल–भारतको सीमानामा पर्ने मेची नदीमा विगतदेखि नै मनाउँदै आइएको छठ पर्वमा झण्डै ५ हजार पूजास्थल निर्माण गरिएको हो । करिव ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्वका रूपमा मनाएका हुन् ।
पछिल्ला वर्षहरूमा भद्रपुर तथा भारतको गलगलियाका बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने गरेको छ । यस पर्वलाई भद्रपुरका बासिन्दाले भव्य रूपमा मनाउने गरेका छन् । पूजा मण्डप र जनसहभागिताका दृष्टिले भद्रपुरको मेची नदी प्रदेश १ को सर्वाधिक जनसहभागिता ओगट्ने पूजास्थल भएको मैथिली समाज भद्रपुरको भनाई छ ।
नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका ब्रतालुहरु यसै नदीमा छठपर्व मनाउँदै आएकाले भद्रपुरको छठपर्वको छुटै विशेषता रहने गरेको भद्रपुर नगरपालिकाका अधिकारीको भनाई छ । पूजा अवलोकन गर्न भद्रपुरमा हजारौको घुइँचो लागेको थियो । यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रूपमा रहेको छ भने भद्रपुर नगरपालिका तथा विभिन्न सामाजिक संघ संस्था, राजनीतिक दलहरू सहयोगी निकायका रुपमा रहेका थिए ।
दुवै देशका ब्रतालुले मेची नदीमा आएर आ–आफनो पूजास्थल बानाएर पण्डालमा पूजा गरेका छन् । पूजास्थलमा आउने भक्तजनहरुलाई भद्रपुरस्थित नेत्रज्योति समाजले निःशुल्क चिया र पानी वितरणको व्यवस्था गरेको थियो भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षाको जिम्मा लिएका थिए ।
Comments