Sajhamanch Archive

ओखलढुंगामा मादक पदार्थले बढ्यो घरेलु हिंसा

Published: in समाज by .

ओखलढुंगा । ओखलढुंगामा हुने अधिकांश घरेलु हिंसाका घटना मादक पदार्थ सेवनका कारण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पर्ने धेरैजसो घरेलु हिंसाका उजुरीमध्ये मादक पदार्थ सेवनका कारण हुने घटनाका उजुरीहरु धेरै आउने गरेको पाइएको हो ।

मादक पदार्थ सेवनका कारण पतिबाट हिंसा भोगेको भन्दै एक महिलाले जिल्ला प्रशासान कार्यलयमा तीन पटकसम्म उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । तीन पटकसम्म उजुरी दर्ता गराएकी ती महिलाले तिनै पटक मिलापत्र गरी गएको र पुनः चौथोपटक पनि उजुरी लिएर आएपछि अभिलेख हेर्दा यस्तो रहश्य खुलेको पन्तको भनाई छ ।

‘जिल्लामा महिला हिंसाका घटनाहरु धेरै हुने गरेका छन् । तर ती घटनाहरु अधिकांश मादक पदार्थ सेवनकै कारण हुने गरेका छन्’ उनले भने । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रजिअ पन्तले महिला हिसांका घटना न्यूनिकरणका लागी सबै सारोकारवाला निकायहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले अधिकाश हिसाँका घटनाहरु मिलापत्र हुने गरेको भन्दै मिलापत्रले सामाजिक सद्भाव र न्याय दिनुपर्ने उनले बताए ।  ‘मिलापत्रले न्याय दिँदैन भने त्यो चाहीँ अन्याय हो’ श्रेष्ठले भने ।

घरेलु हिंसाका उजुरीलाई मिलापत्र गराईदा त्यसले पुनः हिसां जन्माउने उनको भनाई छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा पर्न आउने अधिकाशं महिला हिंसाका उजुरीमध्ये अधिकाशं मादक पदार्थ सेवन गरेर पत्निमाथि कुटपीटका घटना आउने गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शरण दाहालले बताए । उनले मादक पदार्थ  सेवन गर्ने संस्कृति नै परिर्वतन गर्नुपर्ने बताए ।

ओखलढुंगामा गएको ६ महिनाको अवधिमा १४ वटा घरेलु हिसांका घटना दर्ता भएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *