Sajhamanch Archive

आठ कर्मचारीको काम एक्लै धान्दै केशव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

इलाम । पत्याउनै गाह्रो सरकारी कार्यालय, अझ भनौं स्थानीय सरकारको मुख्य अड्डा । अढाई वर्षअघि मात्र निर्वाचित भएको स्थानीय सरकारले सम्हाल्दै आएको स्थानीय राज्यमा अवस्थित कार्यपालिकाभित्र नै कर्मचारीको खडेरी यतिसम्म छ कि एकै कर्मचारीले आठ जनाको काम सम्हाल्दै आएका छन् । त्यो पनि एकै स्थानको कार्यालयमा कहाँ हो र ?

पाँचवटा वडा कार्यालयका सचिव र नगर कार्यपालिकाको कार्यालय भित्रका तीनवटा फाँटको जिम्मेवारी एक्लै सिध्याउनुपर्ने बाध्यता छ कर्मचारीमा । यसरी बाध्यताबश जिम्मेवारी सम्हाल्दैछन् दक्षिणी इलामको माई नगरपालिकाका एक कर्मचारी केशवप्रसाद खनाल ।

केशवको दैनिकी कार्यपालिकाभित्रको र वडा कार्यालयको कामले नै बित्छ । दैनिकीमा कार्यालय समयमात्र चाहिँ पर्दैन । बिहान उठेदेखि राति अबेरसम्म नै उनी कार्यालयको काममा ब्यस्त रहने गरेका छन् ।

‘कहिलेकाहीँ त राति १ बजेसम्म हामी कार्यालयमै बसेर काम गरिरहेका हुन्छौँ’, केशवसँगै कार्यालयको काममा खट्ने गरेका यहाँका लेखाअधिकृत क्षेत्रनाथ शर्मा बताउँछन् ।

केशव माई नगरपालिकामा खरिदार पदका स्थायी कर्मचारी हुन् । उनी अहिले नगर कार्यपालिकाभित्र योजना शाखा, जिन्सी शाखा र प्रशासन शाखाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । ती शाखाहरु शाखा अधिकृतको मातहतमा चल्नुपर्ने शाखाहरु भए पनि कर्मचारी नै नभएपछि उनको काँधमा आइलागेका हुन् ।

त्यो बाहेक उनले वडा नम्बर १, ३, ५, ९ र १० को वडा सचिवको काम पनि गरिरहेका छन् ।कहिलेकाहीँ वडा कार्यालयमै पुगेर सेवाग्राहीको काम गर्ने गरेका केशवले अधिकांश समय नगर कार्यपालिकाको कार्यालबाटै त्यस्तो सेवा दिइरहेका छन् ।

कार्यपालिकाभित्र तीनवटा फाँटको जिम्मेवारी भएका कारण उनले वडा कार्यालयमै पुगेर सेवा दिन भने कमै मात्र भ्याएका छन् । त्यतिमात्र कहाँ हो र ? उनले दुईवटा वडा कार्यालय त देखेका पनि छैनन्, तै पनि ती वडाका सेवाग्राहीको काम नगर कार्यपालिकामै बसेर भए पनि गरिदिरहेको बताउँछन् ।

‘वडा कार्यालयमा गर्नुपर्ने कामहरुका लागि आउने सेवाग्राहीलाई यहीँबाट पनि काम गरिदिने गरेको छु । धेरैजसो काम वडा कार्यालयमा रहेका कार्यालय सहयोगीहरुले गरिदिएर पठाउनुहुन्छ । उहाँहरुबाट नभएका काम यहाँ म गरिदिन्छु’, केशवले भने ।

उनका अनुसार १० वटा वडा कार्यालयमध्ये धेरैजसोमा वडा सचिवबाहेक कर्मचारीको रुपमा कार्यालय सहयोगी मात्र छन् । उनीहरुबाटै सेवाग्राहीलाई धेरै सेवा प्रदान हुँदै आएको छ । वडा कार्यालयमा बैठक बस्दा, विशेष काम पर्दा मात्र आपmू पुग्ने गरेको बाध्यता केशव सुनाउँछन् ।

‘कामको ब्यस्तता छ । प्रशासनमा हाजिरी किताबदेखिका काम दिनहुँ हेर्नुपर्छ, योजना शाखामा नबसे योजनाको काम नै अवरुद्ध हुनसक्छ, जिन्सी शाखाको जिम्मेवारी पनि छ । ती सबै छाडेर वडातिर लाग्दा त नगरपालिका ठप्पसरह नै हुने भएकाले विशेष काममा मात्र वडा पुग्छु’, उनले थपे ।

उनका अनुसार वडा नम्बर १० र ५ का वडा कार्यालयमा अहिलेसम्म पुगेका छैनन् । यति धेरै ब्यस्तताका बाबजुद सेवाग्राहीलाई भने सेवा दिन अलमल नगरेको उनले बताए ।

सेवाग्राहीको चाप धेरै नहुने, आर्थिक वर्षको पहिलो चौमासिक मात्र भएका कारण योजनाको काम पनि अति चापिलो नभएको जस्ता कारणले धेरैवटा जिम्मेवारी काँधमा आइपर्दा पनि दुःखसुख थेग्दै गरेको केशवको भनाई थियो । जिम्मेवारीको बोझले ब्यक्तिगत जीवनमा भने निकै असर पर्ने गरेको गुनासो उनको छ ।

बिरामी पर्दा पनि कार्यालयमै बसेर काम गरिरहनु परेको, सामान्य औषधिको भरमा बस्न बाध्य हुनु परेको, घरपरिवारलाई समय दिन नपाइएको जस्ता समस्याहरु उनले सुनाए । उनले भने, ‘हाम्रा पनि घर परिवार छन् । कार्यालय समयभन्दा अन्य बेला त हामीले उनीहरुलाई दिनुपर्ने हो । त्यस्तो केही हुन पाएको छैन ।’

कार्यालयकै ब्यस्तताका कारण आपले भर्खरै सम्पन्न भएको स्नातकोत्तरको परीक्षा पनि दिन नपाएको उनको भनाई छ । कार्यब्यस्तताले नै शिथिलतासमेत बढाउँदै लगेको गुनासो उनले गरे, ‘यस्तै भइरहने हो भने आयु नै घट्ने सम्भावना हुने रहेछ ।’

यति धेरै जिम्मेवारी सम्हाल्दै आएका यहाँका केशवसहितका कर्मचारीको कामको मूल्याङ्कन गर्ने माथिल्ला तहका कर्मचारी पनि नगरपालिकामा कोही छैन । अहिले यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृत छैनन् । उनीहरु नहुँदा तलका कर्मचारी रानोबिनाको मौरीसरह भएका छन् ।

लेखा अधिकृतको नेतृत्वमा कार्यालय सञ्चालन हुँदै आएको छ ।त्यतिमात्र कहाँ हो र ? ५० जना स्थायी कर्मचारीको दरबन्दी भएको यो नगर कार्यपालिकामा जम्माजम्मी छ जना कर्मचारीमात्र स्थायी छन् । १० वटा वडा रहेको यो नगरपालिकामा जम्माजम्मी करारसहितको अहिले कार्यरत कर्मचारीको सङ्ख्या २५ छ । त्यो पनि तीनजना सवारी चालक र १० जना कार्यालय सहयोगीसमेत गरेर ।

अहिले नगरपालिकामा लेखाअधिकृत क्षेत्रनाथ शर्मा, लेखापाल गोपालचन्द्र काफ्ले, सब इञ्जिनियर मनोज भण्डारी, खरिदार केशव, सहायक महिला विकास निरीक्षक शान्ति गड्तौला र असिस्टेण्ट सब इञ्जिनियर रमेश गिरी मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् ।

उनीहरुले आ–आपm्नो जिम्मेवारी बाहेक लेखा अधिकृत शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतको, सब इञ्जिनियर भण्डारीले पाँचवटा वडाको प्राविधिकसहित वडा नम्बर २ को वडा सचिवको, मबिनि गड्तौलाले वडा नम्बर ४ को वडा सचिवको र सब इञ्जिनियर गिरीले वडा नम्बर ६, ७ र ८ को वडा सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

निजामती कर्मचारी नै वडा सचिव हुनुपर्ने कानूनी बाध्यताका कारण उनीहरुको काँधमा वडा सचिवको जिम्मेवारी थोपरिएको हो । यो नगरपालिकाको कार्यपालिका कार्यालय र सबै वडा कार्यालयमा कम्प्यूटर अपरेटर कर्मचारीहरु छँदै छैनन् ।

कम्प्यूटर अपरेटरको काम पनि अन्य कर्मचारीहरूले नै गर्नु परिरहेको छ । यति हुँदाहुँदै पनि यी छ जनामध्ये दुईजना कर्मचारी संघमा समायोजन भएका कारण तत्कालै यहाँबाट हिँड्दैछन् । केशव र लेखापाल कापm्ले संघमा सरुवा भएका कारण छिट्टै नै उनीहरुलाई रमाना दिनु पर्ने अवस्था रहेको लेखा अधिकृत शर्माको भनाई छ ।

उनले भने, ‘केशव सर त जिल्ला हुलाक कार्यालय इलाममा समायोजन भइसक्नु भएको छ । गोपाल सरको कहाँ भन्ने निधो भइसकेको छैन । हामीले कार्यालयको ब्यस्तता र यहाँ अन्य कर्मचारीको ब्यवस्थापनलाई हेरेर रमाना दिनुपर्ने हुन्छ ।’

उनीहरु बाहेक कार्यालयमा करारको रुपमा एक–एक जना इञ्जिनियर, सूचना प्रविधि अधिकृत र सब इञ्जिनियर छन् भने असिस्टेण्ट सब इञ्जिनियर तीनजना कार्यरत छन् ।

यति सानो कर्मचारी संरचनाले नगरपालिका धान्नुपर्दा नगरपालिकाका धेरै काम सहज रुपमा सम्पन्न हुन नसकिरहेको पाइएको छ । कर्मचारी व्यवस्थापनका लागि लोकसेवा र सरोकारवाला मन्त्रालयमा ताकेता गरेको भए पनि हालसम्म पदपूर्ति हुन नसकेको नगरको गुनासो छ ।

सन्दकपुर अनलाइनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *