Sajhamanch Archive

चिया र धान सुपरजोनका विषयमा नेकपाले गहन अध्ययन गर्ने

Published: in मुख्य समाचार, राजनीति, समाज by .

बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ (१) प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सो क्षेत्रका चिया र धान सुपरजोनका विषयमा गम्भीर ढंगले अध्ययन शुरु गर्ने भएको छ ।

नेपालको निर्यातजन्य कृषि उत्पादन चिया र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई आम कृषकहरुका पक्षमा कसरी उतार्न सकिन्छ भनी कार्यदल नै गठन गरी अध्ययन शुरु गर्ने भएको हो ।

चिया क्षेत्रका सरोकारवालाहरुले चिया गम्भीर संकटमा परेको भनी चिया बचाउ अभियान नै शुरु गरेपछि नेकपाले सो क्षेत्रको समस्या समाधानका उपायका बारेमा छलफल चलाएको हो । किसान, मजदूर, साना चिया किसान र उद्योगबाट आएका सुझावहरुलाई एकीकृत गर्दै तीनै तहका सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ ।

बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउनका लागि पार्टीका क्षेत्रीय समन्वय कमिटीका सदस्य मेघप्रसाद रेग्मीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा यमबहादुर श्रेष्ठ, एनपी वनेम, शिवकुमार राजभण्डारी र दुर्गा भण्डारी रहेका छन् ।

यसैगरी, धान सुपरजोन, जोनका सम्बन्धमा सरकारले ल्याएको परियोजनालाई आम जनताको पक्षमा उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न किसानलाई उत्साहित भएर धान खेती गर्ने वातावरण कसरी तयार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न अर्को कार्यदल गठन गरिएको छ ।

पार्टीको क्षेत्रीय समन्वय कमिटीका सदस्य नवराज भट्टराईको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरी अहिले देखिएका समस्या समाधान गर्न सरकारलाई सुझाव दिने योजना बनाइउको छ । सो कार्यदलमा शेरबहादुर खत्री, तेजेन्द्र मैनाली, बुद्धि नेपाल, नविन ढुङ्गाना रहेका छन् ।

ती दुवै कार्यदलले सरोकारवालाहरुसँग छलफल गरी ३ महिनामा प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक माधव विद्रोहीको अध्यक्षता तथा क्षेत्र नम्बर ३ (१) प्रदेश सभाका सदस्य तथा नेकपा प्रदेश १ कमिटीका सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *