नयाँ उज्यालो साकोसले २६ लाख ३६ हजार नाफा कमायो
Published: (Updated: )
by .विर्तामोड। नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ लाख ३६ हजार एकसय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाको आठौं बार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले विभिन्न शिर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन गरेको उल्लेख छ ।
७७ जना शेयर सदस्यको तीनलाख ८५ हजार शेयर पूँजीबाट शुरु भएको संस्थामा हाल एकहजार सातसय ५६ जना शेयर सदस्य छन् भने एककरोड ७८ लाख, ८१ हजार पाँचसय शेयर पूँजी रहेको अध्यक्ष शुष्मा भण्डारी पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहालले सहकारीबाट ऋण लिएर नतिर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिने नयाँ सहकारी नीतिमा उल्लेख रहेको जानकारी दिए ।
उनका अनुसार आगामी एकवर्ष भित्रमा सहकारी व्यवस्थापन सूचना प्रणाली सम्बन्धी सफ्टवेयर सबै सहकारीहरुले अनिवार्य प्रयोग गर्नुपर्ने र उक्त प्रणाली कार्यान्वयनमा आएपछि एक सहकारी एक सदस्यको नीति कडाईका साथ कार्यान्वयनमा आउने बताउनु भयो ।
शेयर सदस्यलाई सुविधा दिने नाममा विषयगत कोषहरु स्थापना नगरी मूल पूँजीबाट राहत दिंदा सहकारी संस्था जोखिममा पर्नेतर्फ सचेत गराउँदै उनले उपचार, मृत्यु, जगेडा लगायतका कोष स्थापना गर्न सुझाव दिए ।
कार्यक्रममा मिलनसार साकोसका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटा, साना मझौला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देविका बस्नेत, राष्ट्रिय सहकारी बैंकका अधिकृत राजेश थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कमलबहादुर थापाले सञ्चालन र प्रेमबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रममा लेखापाल रोहित पौडेल र बजार प्रतिनिधि मनिषा न्यौपानेलाई नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी असल ऋणीतर्फ अनिता गुप्ता, तिलकराज बस्नेत र डिल्लीबहादुर श्रेष्ठ, असल बचतकर्ताहरु गायत्री राजवंशी, इन्दिरा बुढाथोकी र धर्मेन्द्र रजक ज्येष्ठ शेयर सदस्यतर्फ बृहस्पति शर्मा र यमबहादुर बराइलीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
यसैबीच नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले सहयोग प्रदान गरेको छ ।
नयाँ उज्यालो सहकारीले संस्थाको अक्षयकोषका लागि नगद पाँचहजार एकसय रुपैयाँ सहयोग रकम प्रदान गरेको हो । साधारणसभामा सहकारीकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले सञ्चारगृहका सचिव रेजिना गौतम, कोषाध्यक्ष शुशिला संग्रौला, सल्लाहकार इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, रोहित काफ्लेलाई संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
Comments