Sajhamanch Archive

साना मझौला साकोसको अध्यक्षमा पुनः देवी बस्नेत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले प्रदेश सरकारले बनाउने सहकारी ऐनले पूर्वको सहकारी अभियानको गति निर्भर हुने बताएका छन् ।

एक नम्बर प्रदेश सरकारले सहकारी विधेयक तयार गरी प्रदेशसभाबाट स्वीकृत गराइसकेकोले प्रदेश प्रमुखबाट प्रमाणिकरण मात्र बाँकी रहेको अभियन्ताहरुले जनाएका छन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन समारोहमा उनले सहकारी अभियानमा महिलाको अग्रसरता एवम् नेतृत्वको प्रशंशा गरिन् ।

प्रमुख अतिथि प्रसाईंले आफूले कमाएको रकमको केही अंश भए पनि बचत गर्ने बानी गरियो भने भविष्यका लागि थोरै भए पनि राहत मिल्ने भएकाले आम नागरिकले अनिवार्य रुपमा बचत गर्नुपर्ने बताइन ।

सो अवसरमा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले देशभर सञ्चालित सहकारीहरुमध्ये १५० हाराहारीमा महिलाले नेतृत्व गरेकोमा तीमध्ये झापाका केही सहकारीहरु उदाहरणीय रहेको बताए ।

साधारणसभाको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष देवी निरौला बस्नेतले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १५ करोड ४ लाख १० हजार ४३० रुपैयाँको वासलात बनाएको उल्लेख छ । २ हजार ४८८ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी ३ करोड ७७ लाख ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

संस्थाले गत आर्थिक वर्षमा सम्मान कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर संचालन लगायत विभिन्न कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, संस्थाका संस्थापक अध्यक्ष खड्गप्रसाद ओडारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

उक्त कार्यक्रममा संस्थालाई सहयोग गर्ने राजु बस्नेतलाई नगदसहित सम्मानित गरिएको छ । संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।

 

नयाँ नेतृत्व सर्वसम्मत चयन

साधारणसभासहित आजै चौथो अधिवेशन पनि भएकाले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद संग्रौलाले जनाएका छन् ।

उनका अनुसार सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र एकजना सदस्यले निरन्तरता पाएका छन् भने लेखा सुपरीवेक्षण समितिका सबैले समान पदमा जिम्मेवारी दोहोर्याएका छन् ।

सर्वसम्मत छानिएको सञ्चालक समितिको अध्यक्षमा देवी निरौला बस्नेत, उपाध्यक्षमा रामलोचन न्यौपाने, सचिवमा चन्द्रकुमार भट्टराई, सहसचिवमा छविरमण अधिकारी र कोषाध्यक्षमा देवी अधिकारी रहेका छन् ।

नौ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा टीकामाया भट्टराई, प्रेमकुमार कार्की, अनिता मैनाली र बिक्रम मादेन छानिएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा श्यामबहादुर निरौला र सदस्यहरुमा चन्द्रबहादुर बस्नेत तथा यशोदा बस्नेत रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *