Sajhamanch Archive

निर्माण कम्पनीले अलपत्र छाडेको सडक आफै बनाउँदै भद्रपुर नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

भद्रपुर । सर्वसाधरणलाई दैनिक आवतजावत गर्न असहज हुन थालेपछि भद्रपुर नगरपालिकाले सडकको मर्मत सम्भार थालेको छ ।

पुल निर्माण कम्पनीले समयमा चासो नदेखाउँदा भद्रपुर नगरपालिकाले मेची पुल जोड्ने सडकको मर्मत कार्य सुरु गरेको हो। नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको पुल जोड्ने अस्थायी रुपमा बनाइएको ग्राभेल सडक अविरल वर्षा र बाढीले ठाउँ ठाउँमा भत्काएको छ।

सडक भत्किएर जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य हुनुका साथै आवतजावत नै ठप्प हुने गरेको थियो। नगरपालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मीले यसप्रति चासो देखाउन बाध्य भएको हो। पुल जोड्ने सडक तत्काल मर्मत सम्भार नहुँदा मानवीय क्षति हुने सम्भावना बढेको थियो।

भारततर्फ जोडिने ग्राभेल सडकको धेरै भाग बगाइसकेको छ। मेची नदीमा पानीको सतह बढेसँगै उद्घाटनको प्रतिक्षामा रहेको मेची पुलमाथिबाटै सर्वसाधारण जोखिम मोलेर पैदल, साइकल, मोटरसाइकल तथा भेनमा आवतजावत गरिरहेका छन्। ग्राभेल सडक भत्किँदा यात्राको जोखिम बढेको भद्रपुर नगरपालिका–५ का वडाध्यक्ष बन्धु कार्कीले बताए।

निर्माण कम्पनीले सडक बनाउनुपर्ने भए पनि बेवास्ता गरेकाले नागरिकको सुरक्षाका लागि नगरपालिकाले बनाउनु परेको उनले बताए। ‘सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा पुलको सडक भत्कियो, आवतजावत नै ठप्प हुने समाचार आइरह्यो,’ उनले भने, ‘यति हुँदा पनि मेची पुलको जिम्मेवारी लिएका सम्बन्धित निकायले कुनै चासो नदेखाउँदा नगरपालिका आफैं सडक मर्मत सम्भार गराउन लागिपरेको हो।’

भारततर्फ बाँसका पुल भारतीय सुरक्षाकर्मीले पुलबाट आवतजावत गर्ने दुवै देशका जनतालाई खेत र पानीबाट हिँडेर जानु भन्दै सास्ती दिइरहेको विषयमा थाहाखबरले समाचार प्रकाशन गरेपछि त्यहाँ स्थानीयले सुरक्षाकर्मीसँगको सहकार्यमा आवतजावत सहज बनाएका छन्।

भारतीय नागरिकले रकम संकलन गरी खेत र सडकमा पानी बग्ने ठाउँमा तीन वटा अस्थायी बाँसका पुल बनाएर आवतजावतलाई सहज बनाएका हुन्। भारततर्फ अस्थायी बाँसे पुल बनेपछि दुवै देशका जनतालाई यात्रा गर्न सहज बनेको छ। साइकल तथा मोटरसाइकलमा यात्रा गर्ने नागरिकलाई पनि सहज भएको स्थानीय व्यापारी राजु रायाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *