सिरिजको भरमा सुहाना !
Published:
by .हिट फिल्मको सिरिजमा काम गर्दा कलाकारलाई बक्सअफिसको दबाब कम हुन्छ । नामकै भरमा दर्शक हलसम्म ओहिरिने हुँदा कलाकारहरु ब्रान्ड बनिसकेको फिल्ममा काम गर्न पाउँदा आनन्दको सास फेर्छन् ।
अपबाद बाहेक नेपालमा नयाँ नाममा बनेका फिल्म खासै चलेका छैनन् । हिट फिल्मका सिरिजले नै बक्सअफिसमा बोराका बोरा पैसा छापेका छन् । तात्तातो उदाहरणको रुपमा ‘जात्रै जात्रा’ र ‘कबड्डी ३’ लाई लिन सकिन्छ ।
कथा भन्ने शैली परिवर्तन नहुँदा दर्शकले केही टिम र ब्रान्ड फिल्मलाई मात्र विश्वास गर्नुपर्ने बाध्यता छ । नयाँ नाममा फिल्म गर्दा स्टारडम भएका अभिनेता र अभिनेत्री समेत सफलताबाट विमुख हुनु परेको यथार्थ जगजाहेर छ । त्यसैले, आजभोली चल्तीका प्रायः कलाकारहरु सिरिजको भर पर्न थालेका छन् । अनमोल केसी, प्रदीप खड्का, पल शाह, पूजा शर्मा, स्वस्तिमा खड्कालगायत यसका उदाहरण हुन् ।
‘ए मेरो हजुर ३’ बाट डेब्यू गरेकी निर्देशक झरना थापाकी छोरी सुहाना समेत सिरिजको भर पर्ने कलाकारको भीडमा थपिएकी छन् । उनी आफ्नो डेब्यू फिल्मको चौथो सिरिजमा दोस्रो पटक अभिनेता अनमोल केसीसँग रोमान्स गर्दैछिन् । यसअघि उनले फिल्म ‘भागवत गीता’ मा अभिनय गर्ने चर्चा थियो । तर, निर्देशक थापाले छोरीको करिअरका लागि नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन चाहिनन् ।
‘ए मेरो हजुर ४’ ले अभिनेत्री सुहानालाई फेरि एउटा उचाइ दिलाउने विश्वास लिइएको छ । निर्माण र रिलिज अगावै ‘स्योर सट हिट’ मानिएको यो फिल्मले उनको स्टारडम पनि उत्कर्षमा पुर्याउने कतिपयको विश्लेषण छ । सिरिजको काँधमा टेकेर आफूलाई चम्काउने धाउन्नमा रहेकी सुहानाले बाहिरी ब्यानरको फिल्म भने रिजेक्ट गर्दै आएकी छन् । उनलाई तत्काल बाहिरी ब्यानरको फिल्म गर्न घरबाटै बन्देज छ ।
अघिल्लो श्रृंखलाभन्दा ‘ए मेरो हजुर ४’ ले बक्सअफिसमा ठूलो सफलता हात पार्न सफल भएको खण्डमा सुहानाले नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाउनेछिन् । दुई फिल्मको सफलताको ब्याज खाएर मात्रै पनि उनले केही वर्ष नेपाली फिल्ममा राज गर्न सक्छिन् । अरु फिल्मले करिअर डुबाए ‘ए मेरो हजुर’ सिरिज छँदैछ । आमा(बुबा नै नेपाली फिल्मका ठूला मेकर भएपछि सुहानालाई करिअरको के चिन्ता !
फिल्मीखबर
Comments