मोटरसाइकल चोर्ने गिरोहका नाइकेसहित चार जना पक्राउ
Published:
by .मकवानपुर । एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइकेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा नं.४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका वडा नं.४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका वडा नं.९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्पिल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ ।
ज्ञानेन्द्र चौधरी मोटरसाइकल चोर्ने गिरोहको नाइके रहेको प्रहरीको दाबी छ । उनी यसअघि मोटरसाइकल चोरी मुद्दामा ३ लाख १० हजार रुपैयाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए ।
मोटरसाइकल चोरी गर्ने समूहलाई जिल्लाका तीन छुट्टा छट्टै ठाउँबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १९ बाट चोरीको मोटरसाइकल सहित निरन्जन चौधरीलाई प्रदेश ३-०२-०१०प २४५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । त्यस्तै राजमार्गको हेटौंडा-लेवट खण्डबाट अनटेष्ट मोटरसाइकलसहित राजकपुर चौधरी पक्राउ परेका थिए ।
राजमार्गमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीलाई छक्याएर भागेका राजकपुरलाई लेवटको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई छक्याएर भाग्ने क्रममा मोटरसाइकलबाट लड्दा उनको दायाँ कुमको हड्डी भाँचिएको प्रहरी उपरीक्षक सिंहले बताए ।
चोरी गर्ने गिरोहका नाइके भनिएका ज्ञानेन्द्र चौधरीलाई चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३००२ प ५९४७ नम्बरको बुलेट वाइकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले चलाएको मोटरसाइकलको पछाडि बसेका बारा कोल्बी नगरपालिका वडा नं.६ का २२ वर्षीय धिरज चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनलाइनखबर
Comments