Sajhamanch Archive

नेपालको नयाँ नक्सा सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने,’डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’ नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको उनले बताए ।

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे । नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो।’

सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको उनले बताए। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।’ पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ।’ पूर्वसचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्‍याउने जानकारी दिए । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनको भनाइ थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *