३९ वडाको नतिजा सार्वजनिक : केही ठाउँमा परिणाम उल्टियो
Published:
by .काठमाण्डौ । शनिबार भएको उपचुनावको मतपरिणाम धमाधम आइरहेको छ । पालिकाका ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।
यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा नतिजा उल्टिएको छ । सत्तारुढ नेकपाले बैतडी, दाङ, चितवन, सर्लाही, अर्घाखाँची, पाँचथरका का गरी ६ वटा वडा गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यस्तै कांग्रेसले यसअघि जितेका बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र पाँचथरमा नेकपा विजयी भएको छ ।
सत्तारुढ नेकपालाई सबैभन्दा ठूलो झड्का चितवनमा लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटा वडामा नेकपाका सबै उम्मेदवार पराजित भएका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत कांग्रेस विजयी भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ४, वडा नं. ५ र भरतपुर महानगरपालिका वडा नं. १६ मा वडाध्यक्ष पदमा भएको चुनावमा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं. १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन्। उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको अन्तरले पराजित गरे ।
दाङको घोराही वडा नं.१६ मा यसअघि नेकपाले जितेकोमा अहिले कांग्रेस विजयी भएको छ । यसअघि नेकपा विजयी भएको अर्घाखाँचीका मालारानी वडा नं.३ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेकपाले जितेको सर्लाही हरिपूर्वा वडा नं.१ मा समाजवादी पार्टी विजयी भएको छ । यसअघि राजपाले जितेको रौतहट गढीमाई वडा नं.२ मा कांग्रेसले जितेको छ ।
यसअघि कांग्रेसले जितेको बाजुराको त्रिवेणी गाउँपालिका वडा नं.१ मा नेकपा विजयी भएको छ ।
यस्तै यसअघि कांग्रेसले जितेको पाँचथरको फिदिम वडा नं.१ मा नेकपा र तत्कालीन एमालेले जितेको हिलिहाङ गाउँपालिका वडा नं.७ मा कांग्रेस विजयी भएको छ ।
Comments