Sajhamanch Archive

केकी गाउँलेको भुमिकामा

Published: in विविधा by .

गएको असोज अन्तिममा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारीको व्यस्तता निकै बढेको छ ।

एक दशक लामो फिल्म करिअरमा पहिलो हिट फिल्म दिएकी उनी हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र घनिष्ट साथी ऋचा शर्माको विवाहमा सहभागी भएपछि फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी छन् ।

फिल्मको सुटिङ ज्वाइन गरेसँगै उनको लुक्स सार्वजनिक गरिएको छ । यो फिल्ममा उनले एक विवाहित गाउँले महिलाको भूमिका निभाएकी छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा केकीलाई सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा ऐनामा हेर्दै गरेको देख्न सकिन्छ । टिपिकल नेपाली पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् ।

यसअघि नीर शाह निर्देशित फिल्म ‘मसान’ मा उनलाई यस्तै लुक्समा देखिएको थियो । यसमा उनले विवाहित महिलाको भूमिका निभाएकी थिइन् । ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माको पनि प्रमुख भूमिका छ । उनलाई पनि फिल्ममा केकीको जस्तै लुक्समा देख्न पाइनेछ । केही दिन अगाडि निर्माण टिमले उनको लुक्स सार्वजनिक गरेको थियो । जुन दर्शकले निकै रुचाएका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ को अहिले भकुेन्डेबेसीमा छायांकन भैरहेको छ । त्यहाँ इनडोर छायांकनका लागि भव्य सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद लेखक प्रदीप भारद्धाजले तयार पारेका हुन् । फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायत एकसेएक हिट फिल्म दर्शकलाई दिइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *