Sajhamanch Archive

मोटरसाइकल र टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

मकवानपुर । मकवानपुरमा सवारी साधनको ठक्करबाट मंगलबार राति दुई जनाको ज्यान गएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ९ र मकवानपुरगढीमा सवारी साधनको ठक्करबाट दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका वडा नं.९ को पशुपति नगरमा रहेको नेपाल बैंक अगाडि मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले एक जना महिलालाई ठक्कर दिएको थियो ।

एसपी सिंहका अनुसार महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौँडा अस्पताल लगेपछि अस्पतालले मृत घोषणा गरेको थियोे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका वडा नं.६ का कञ्चन ठाकुरको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका वडा नं.१० की ३५ वर्षीया सर्मिला थापा मगरको हातखुट्टामा चोट लागेको छ । घाइते दुवै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ को मक्रान्चुली नजिक टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति मकवानपुगढी गाउँपालिका वडा नं. ४ को मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ६३५५ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय दिपक पाख्रिनको ज्यान गएको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ज्यान गएपछि स्थानीयले टिप्परमा तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *