Sajhamanch Archive

प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा पर्न थालेका छन्।

तस्करहरूले सस्तो श्रमिकका रूपमा बालबालिकालाई ललाइफकाइ भारतको पञ्जाब र हरियाणासम्म पुर्‍याउने गरेको तथ्य पुष्टि भएको हो।

अभिभावकलाई कुनै जानकारी नै नदिई मानवतस्करहरूले सिमाना कटाउन लागेका १० जना बालकहरूलाई बिहीबार साँझ उद्दार गरिएको छ। सामाजिक अभियन्ता सरोज रायले भारतीय सीमावर्ती इलाकाबाट ती बालकलाई उद्दार गरी नेपाल ल्याएका हुन्।

लालबन्दी नगरपालिका वडा नं.२ का बिर्बल पासवान, रामनगर नगरपालिका वडा नंं.६ का मोहम्मद सदरे आलाम नदाफ र वीरगञ्ज घर बताउने किशन पटेललाई वीरगन्जको घण्टाघर नजिकैबाट घुमाईदिने आश्वासन दिई मानवतस्करले रक्सौल पुर्‍याएको थियो।

तस्कर समूहले ७/८ बर्षका यी बालकहरूलाई त्यहाँ लगेर चार दिनसम्म भीख माग्न लगाएको थियो। वीरगञ्जबाट सितामढीको बाटो हुँदै भारतको अन्य भागमा पुर्‍याउन खोज्ने एक पुरुष र दुई महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको बालक उद्दारमा संलग्न रायले बताए।

रक्सौलका अधिकारकर्मीहरूले बालक उद्दार गरी स्थानीय सुधारगृहमा राखेका थिए। ती बालक लिन भारत पुगेका रायले थप सातजना नेपाली बालकहरूलाई पनि सुधारगृहबाट नेपाल ल्याएका छन्। सर्लाही चन्द्रनगर गाउँपालिकाका विवेक माझी, विक्रम माझी, रवि कुमार, संतोष माझी, संदीप माझी, रूपेश माझी र राजु माझीलाई उनले नेपाल ल्याएका हुन्। यी बालकहरुलाई राम्रो तलबमा काम लगाईदिने प्रलोभन देखाउँदै तस्कर समूहले एकमहिनाअघि भारत पुर्‍याएको थियो।

तस्करसहित बालकलाई समातेर भारतीय प्रहरीले सीतामढीस्थित बालगृहमा राखेको थियो। रायले प्रदेश दुईको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सिफारिस पत्रसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको उद्दार गरेका हुन्।

प्रशासनले बालबालिकाको जिम्मा लिएन

जिल्ला प्रशासन कार्यालय सर्लाहीले भारतबाट उद्दार गरिएका बालबालिकाको जिम्मा लिन इन्कार गरेको छ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उद्धारका लागि कागजात बनाउन सहयोग गरे पनि नेपाल ल्याइएका बालकहरूलाई जिम्मा नलिएको रायले जानकारी दिएका छन्। प्रशासनले जिम्मा लिन नमानेपछि उद्धार गरिएका आठै जना बालकलाई चन्द्रपुर गाउँपालिका वडा नंं.२ का वडाध्यक्ष रामनारायण महतो, ६ नम्बरका वडाध्यक्ष रामचन्द्र कापड तथा स्थानीय सञ्चारकर्मीको रोहबरमा आफन्तको जिम्मेवारी लगाइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *