Sajhamanch Archive

मोरङको मंगलवारे अस्पताललाई ट्रमा सेन्टर बनाइने

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ सरकारले मोरङको मंगलवारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाउने भएको छ ।

प्रदेश सरकारले कार्यविधि बनाएर मंगलबारे अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको प्रकृया अगाडि बढाएको हो ।१५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको छ ।

अघिल्लो आर्थिक वर्ष पनि ट्रमा सेन्टरको रुपमा विकास गर्न भन्दै दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।सामाजिक विकासमन्त्री जीवन घिमिरेले तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको अस्पतालालाई प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्य तयारी अघि बढाएको जानकारी दिए ।

उनले अघिल्लो आर्थिक वर्षमा छुटाइएको बजेटबाट अस्पतालको सेवा विस्तारका लागि आवश्य उपकरण खरिद गर्नेमा भएको र यो आर्थिक वर्षको बजेटबाट ट्रमा सेन्टर सञ्चालनका लागि थप उपकरण खरिद गरिने बताए ।

मन्त्री घिमिरेले भने, ‘पूर्व(पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परेका मानिसलाई तत्काल उद्धार गरी उपचारको यथोचित प्रबन्ध मिलाउन प्रदेश सरकारले मंगलवारे अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छौं । ट्रमा सेन्टरका लागि आवश्यक उपकरणसहितको अस्पतालका रुपमा यही आर्थिक वर्षभित्रै मंगरबारे अस्पताललाई विकास गरिनेछ ।’

उनले अस्पतालाई ट्रमा सेन्टरका रुपमा विकास गर्नका बहुवर्षीय योजनामा समावेश गरिएको र अस्पतालको स्तरोन्ती गरी ५० शैय्याको बनाउने पनि बताए ।

मन्त्री घिमिरेले मंगलवारे अस्पताललाई प्रदेश सरकारले प्रदेशकै नमूना अस्पताल निर्माण गर्ने गरी तयारीसमेत भइरहेको बताए । ट्रमा सेन्टरसहित मंगलवारे अस्पतालमा थप डेन्टल सेवा पनि सञ्चालन गरिने उनको भनाइ छ ।

मंगलबारे अस्पताल सञ्चालक समितिका सदस्य कमलनारायण मल्लिकले हाल सामान्य शल्यक्रियामा हुने अस्पतालमा पहिलो चरणमा ट्रमा सेन्टरका लागि छुट्टाइएको २ करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरिएको जानकारी दिए । उनले अहिले अस्पतालमा शल्यक्रिया बनाउने काम पनि सम्पन्न् भएको जानकारी दिए ।

सदस्य मल्लिकले नेपालमा वीर अस्पतालमा मात्र ट्रमा सेन्टर भएकाले ट्रमा सेन्टर निर्माण सम्बन्धी कार्यविधि बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।

‘अस्पताललाई ट्रमा सेन्टरका लागि चाहिने आधारभूत पूर्वाधार निर्माणको कार्यमा अस्पताल सञ्चालक समिति जुटेको छ,’ सदस्य मिल्लकले भने, ‘यही आर्थिक वर्षभित्र आवश्य चिकित्सक र उपकरणसहितको सेवा प्रदान गर्न अस्पतालको लक्ष्य रहेको छ ।’ सोही अनुरुप अस्पताललाई विकास गर्न काम अहिले भइरहेको छ ।

वार्षिक एक करोड बढी आम्दानी

मंगलबारे अस्पतालले वार्षिक एक करोड २६ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा योगेशकुमार मण्डलले गएको आर्थिक वर्षमा अस्पतालले स्वास्थ्य सेवा प्रवाह गरी एक करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

उनले मोरङ जिल्लाको सुदूरपूर्वी भेगमा रहेको अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप हुने गरेको बताए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा दैनिक २ सयदेखि २५० जनासम्म बिरामीहरु सेवाको लागि आउने गरेका छन । मासिक ६० देखि ८० जनाले प्रसुती सेवा पनि लिइरहेको अस्पतालको भनाइ छ ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *