Sajhamanch Archive

विवाहका दिन बेहुला प्रहरी हिरासतमा

Published: in विविधा by .

विराटनगर । घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए ।

बेहुला धरान उपमहानगरपालिका वडा नं.१५ का २१ वर्षीय कमल धमला (वि .क) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए ।

जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परे ।उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७/७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ ।

कमल अबेरसम्म घर नआएपछि खोजी सुरु भयो । त्यसक्रममा घर परिवारका सदस्यले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको सूचना पाए । भोलि विहान बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानु पर्ने बेहुला आफैं प्रहरी हिरासतमा परेपछि पर्‍यो फसाद ।

बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् ।

आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।

बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ ।

धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *