Sajhamanch Archive

दरबार हाइस्कुल डेढ महिनाभित्र हस्तान्तरण हुदैँ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । चिनियाँ निर्माण कम्पनी साङ्घाई कन्स्ट्रक्सनले पुनर्निर्माण गरिरहेको दरबार हाइस्कुल डेढ महिनाभित्र नेपाललाई हस्तान्तरण गर्ने भएको छ।

वि.सं. २०७२ सालको गोर्खा भूकम्पबाट क्षतिग्रस्त भएको यो ऐतिहासिक विद्यालयको पुनर्निर्माण चीनले गरिरहेको छ। ८५ करोड रुपैयाँ लागतमा यो विद्यालयका लागि नयाँ भवन निर्माण भइरहेको छ। विद्यालय भवन निर्माणको लगभग ९५ प्रतिशत काम सकिएको छ।

वि.सं. १९१० मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले दरबार हाइस्कुल स्थापना गरेका थिए। भूकम्पले बारम्बार भत्काएपछि यसपटक भने यो विद्यालय पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ।

विद्यालयको वास्तु भने यसअघिकै स्वरुपको छ। तोकिएको समयमै निर्माण कार्य सक्न अहिले दैनिक १०० जना कामदारहरु खटाइएको छ। कक्षाकोठाको ढोका, परिसर पर्खाल, रङ्गरोगन र बाँकी अन्य कामहरु धमाधम हुँदैछन्।

चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इस्टिच्युटले डिजाइन गरेको यो भवन निर्माण शुरु गरेको १९ महिनामा हस्तान्तरण हुन लागेको हो। ४० कक्षाकोठासहितको चारतले भवन निर्माणका लागि आवश्यक निर्माण सामग्री र कामदारहरु खुलामञ्चमा राखेर चीनियाँ निर्माण कम्पनीले द्रुत गतिमा काम गरिरहेको छ।

भूकम्पअघि दरबार हाइस्कूलमा भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालय राखिएको थियो। तर भवन भत्किएपछि बाल्मिकी विद्यापीठको खुला चौरमा टहरा बनाएर पठनपाठन हुँदै आएको छ। दुवै विद्यालयमा कूल ३०० विद्यार्थी र ३५ शिक्षक कार्यरत छन्। शिक्षक अनुपातमा विद्यार्थी संख्या निकै कम रहेको यो विद्यालयको भवन भने भव्य बनाइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *