Sajhamanch Archive

दीपेन्द्र दयाहाङ र विपिनलाई लिने कसरतमा

Published: (Updated: ) in टिप्स/जानकारी by .

पाली फिल्मको तीखो समीक्षा गरेर आफ्नो अलग परिचय बनाएका दीपेन्द्र लामा केही वर्षयता फिल्म निर्देशन गर्न व्यस्त छन् । फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सम्हाल्न थालेपछि उनले शब्दमार्फत फिल्मको राम्रो र नराम्रो पक्ष केलाउन लगभग छाडेका छन् । उनी अब पूर्णरुपमा फिल्म निर्देशनमा समाहित हुने सोचमा छन् । उनी निर्देशित पछिल्लो फिल्म ‘छ माया छपक्कै’ हो ।

प्रदर्शनको ५१औं दिन मनाउन सफल यो फिल्ममा उनको निर्देशकिय कौशलको निकै प्रशंसा भएको थियो । साथै, उनी निर्देशित यो पहिलो हिट फिल्म पनि हो । ‘घामपानी’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका उनले फिल्म ‘गोपी’ को पनि निर्देशन गरेका थिए । तर, यी दुवै फिल्मले बक्सअफिसमा घुँडा टेके । ‘छ माया छपक्कै’ भने यस वर्ष सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

अब, उनी चौथो फिल्मको तयारीमा छन् । नाम गोप्य राखिएको फिल्मको लिड रोलमा अभिनेता दयाहाङ राईसँग उनको मौखिक सहमति भैसकेको छ । यसअघि ‘घामपानी’ मा दुईबीच सहकार्य भएको थियो । अभिनेता राई अहिले लेखक उपेन्द्र सुब्बाको डेब्यू निर्देशित फिल्ममा व्यस्त छन् । यसको छायांकन भ्याएपछि उनले दीपेन्द्रको फिल्मलाई समय निकाल्ने बताइएको छ ।

प्राप्त जानकारी अनुसार, निर्देशक लामा आफ्नो नयाँ प्रोजेक्टमा दयाहाङसँगै अभिनेता विपिन कार्कीलाई पनि लिने कसरतमा छन् । यसअघि विपिन र दीपेन्द्रबीच फिल्म ‘गोपी’ मा सहकार्य भएको थियो । विपिनसँग निर्देशक लामाको फिल्मको विषयमा केही पटक कुराकानी भैसकेको छ । तर, कागजी सम्झौता भने भएको छैन । निर्देशक लामा स्वयं यो कुरा स्वीकार गर्छन् ।

एक भेटमा उनले भने, ‘दयाहाङ राई र विपिन कार्कीसँग फिल्मको विषयमा कुरा भएको सत्य हो । तर, दुवैसँग कागजी सम्झौता भएको छैन । अहिले स्क्रिप्टमा काम भैरहेको छ ।’ दयाहाङ र विपिनले यसअघि ‘लुट २’, ‘जात्रै जात्रा’, ‘छड्के’ मा सँगै काम गरिसकेका छन् । अभिनयका खानी मानिने यी दुई अभिनेतालाई फेरि एकसाथ पर्दामा ल्याउन निर्देशक लामा सफल होलान् त ?

 

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *