Sajhamanch Archive

३२ दिनमा सुटिङ प्याकअप

Published: (Updated: ) in टिप्स/जानकारी by .

फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को सुटिङ सकिएको छ । क्यामेरा ‘अन’ भएको ३२ दिनमा फिल्मको सोमबार सुटिङ प्याकअप भएको हो ।

निर्माता अर्जुन कुमारले अब फिल्मको एक गीत खिच्न बाँकी रहेको बताए । उक्त गीत केही हप्तामा खिचिने उनी बताउँछन् । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई घोषणा गरिएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बनेको बताउँछन् । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । ‘चपली हाइट’ को अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

नाम नै ब्रान्ड बनिसकेको यस फिल्ममा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो । त्यस्तै, निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि फिल्म ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।

यौन मनोविज्ञानमा निर्माण भएको फिल्म ‘चपली हाइट’ बाट अभिनेत्री विनिता बरालले डेब्यू गरेकी थिइन् । उनको बोल्ड सिनका कारण फिल्मले बदनामीसँगै राम्रो दाम पनि कमायो । यसको दोस्रो श्रृंखलाले भने निर्माताको लगानी उठाएन । तर, निर्माता अर्जुन फिल्मको सिरिज निर्माण गर्न रोकिएका छैनन् । ‘चपली हाइट ३’ ले कस्तो व्यापार गर्ला ? धेरैलाई यसबारे चासो छ ।

पछिल्लो समय नेपाली निर्माताहरु नयाँ नाममा फिल्म बनाउन डराएको अवस्था छ । ब्रान्ड फिल्मका सिरिजमाथि दर्शकले विश्वास गर्न थालेका कारण अहिले निर्माताहरु हिट फिल्मको सिरिज निर्माण गर्न लागिपरेका छन् । फिल्म बक्सअफिसमा पछारिए पनि सिरिजबाट ठूलो घाटा नहुने विश्वास उनीहरुमा छ । त्यसैले अहिले नेपाली फिल्मको सिरिज निर्माण हुने क्रम बढेको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *