स्वास्थ्य र उत्पादनमा लगानी गर्ने कर्णाली साकोसको लक्ष्य
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने भएको छ ।
संस्थाको आइतबार हुने १९औँ साधारणसभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी लक्ष्यबारे जानकारी दिएको हो । संस्थाका अध्यक्ष टीएस श्रेष्ठले सदस्यलाई आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने आगामी योजना रहेको बताए ।
‘कर्णालीले सदस्यमूखी विभिन्न कार्यक्रममार्फत् उत्पादन मूलक क्षेत्रमा लगानी गरिरहेकै छ’, उनले भने, ‘संस्थागत रुपमा पनि यसलाई प्राथमिकताका साथ अघि बढाउने योजना छ ।’ कर्णालीले आर्थिक वर्ष २०७६/०७७ मा उत्पादन क्षेत्रमा करिब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ भने अस्पताल सञ्चालनका लागि तयारी थालेको छ ।
सरकारले अघि सारेको ‘एक सदस्य, एक सहकारी’ अभियानलाई सफल पार्न संस्था संख्यात्मक भन्दा पनि गुणात्मक सदस्य बनाउने तर्फ अग्रसर भएको अध्यक्ष प्रधानको भनाइ छ । महिला सदस्य बढी भएको कर्णालीमा १९ हजार १६० महिला र १० हजार ३३ जना पुरुष सदस्य रहेका छन् भने आगामी आर्थिक वर्षमा उक्त संख्यामा ५ हजार ९७६ जना बृद्धि गरी ३५ हजार १६९ बनाउने लक्ष्य राखिएको छ ।
संस्थाले १७ वटा सेवा केन्द्र सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । झापासहित इलाम र मोरङमा १३ वटा सेवा केन्द्र थप गरी तीन जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य संस्थाको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा २६ करोड ६८ लाख ३२ हजार २४ रुपैयाँ आम्दानी गरेको संस्थादे ५ करोड ५ लाख २० हजार ४६० रुपैयाँ खुद नाफा गरेको छ । संस्थामा २२ करोड ३६ लाख ८८ हजार ४ सय रुपैयाँ चुक्ता शेयर पुँजी रहेको छ भने कोष तथा अन्य दायित्वमा २५ करोड ९४ लाख २४ हजार १२२ रुपैयाँ रहेको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्षमा पुनः टसबहादुर श्रेष्ठ
यसैबीच, संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः टसबहादुर श्रेष्ठ चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।
संस्थाको उपाध्यक्षमा इश्वरीप्रसाद खरेल, सचिवमा भूपाल बस्नेत, कोषाध्यक्षमा एकराज विष्ट चयन भएको निर्वाचन समिति सदस्य नरबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक चयन भएका छन् ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकुमार गौतम, सदस्यमा मनकुमार बेघा र निलम प्रधान चयन भएको निर्वाचन समिति सदस्य बस्नेतले बताए । समितिले १९ औँँ साधारणसभाको अवसरमा आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने जनाइएको छ ।
Comments