Sajhamanch Archive

बाह्रदशीमा स्ट्रबेरी खेती हेर्ने जानेको लर्को !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

राजगढ । पहाडमा बस्नेहरुका लागि नौलो कुरा नहुन सक्छ तर धेरै तराईबासीहरुले स्ट्रबेरी फल देखेका पनि छैनन् भन्दा हुन्छ । त्यही भएर यतिबेला बाह्रदशी १ मा लगाइएको स्ट्रबेरी खेती हेर्न जानेको लर्को छ । त्यहाँ ब्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो मानिन्छ । गोल्यान गु्रपको गोल्यान एग्रो प्रालिले ३८ दशमलव ५ एकड (करिब ३२ बिगाह) जग्गामा स्ट्रबेरी खेती लगाएको छ ।

गत कात्तिक ११ गते रोपिएका स्ट्रबेरीहरुले उत्पादन दिन थालेका छन् । कुनै फुल्दैछन् भने कुनै बोटमा फल लाग्न थालिसकेको छ । स्ट्रबेरी दुई महिनामा फल्ने गर्छ । रातो स्ट्रबेरीले जोकोहीको मन लोभ्याउने गरेको छ । सबैले उत्सुकताका साथ स्ट्रबेरीका बारेमा सोध्ने गर्छन् । ‘दिनमा ४०—५० जनाका दरले हेर्न आउनु हुन्छ’ सुरक्षागार्ड मानबहादुर थापाले भने ‘उहाँहरुले बडो चासो लिएर हेर्ने र सोध्ने गर्नुहुन्छ ।’

सुरक्षागार्ड मानबहादुर थापाले स्थानीयसँगै जिल्ला बाहिरबाट पनि हेर्न आउने गरेको बताए । स्ट्रबेरी खेतीभित्र अवलोकनकर्ताहरुलाई गुट्का र सुपारी प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । गुट्का र सुपारीले स्ट्रबेरीको बोटमा बिषको काम गर्ने गरेकाले प्रयोग गर्न प्रतिबन्ध लगाइएको थापाले जानकारी दिए ।

कमल गाउँपालिकाका तीनवटा सहकारी संस्थाका ३५ जना सदस्यहरु मंगलबार त्यहाँ गएका थिए । पूर्व नेपाल, नवोदय र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाबाट स्ट्रबेरी खेती अवलोकन गर्न उनीहरु आएका थिए । सहकारीकर्मीहरुलाई कृषि ज्ञान केन्द्र भद्रपुरका बाली संरक्षण अधिकृत खिरबहादुर श्रेष्ठले गाइड गरेका थिए । उनी पनि पहिलोपटक त्यहाँ गएको बताउँछन् ।

‘तराई क्षेत्रमा ब्यवस्थित रुपले स्ट्रबेरी खेती गरेको देख्दा राम्रो लाग्यो’ अधिकृत श्रेष्ठले भने ‘आम्दानी राम्रो भएमा अरु ठाउँहरुमा पनि बिस्तार गर्न सकिन्छ ।’ त्यस्तै केही दिन अघि त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन पनि स्ट्रबेरी खेती हेर्न पुगेका थिए । आफ्नो क्षेत्रमा पहिलो पटक ब्यावसायिक रुपमा स्ट्रबेरी खेती गरिएकोमा खुशी ब्यक्त गर्दै उनले सफलताको शुभकामना दिएका थिए । ‘यो बहुउपयोगी छ’ उनले भने ‘प्रविधि भित्रियो, रोजगार सिर्जना भयो र अर्थतन्त्रमा सघाउ पुग्ने भयो ।’

खेतीका लागि शुरु—शुरुमा सयजना कामदार खटिन्थे भने अहिले ६५ जनाले दैनिक ज्यालादारी गरिरहेका छन् । पाँच सय रुपियाँको दरले स्थानीयहरुलाई नै रोजगारमा लगाएको कम्पनीले जनाएको छ । ड्याङ—ड्याङमा ब्यवस्थित रुपले स्ट्रबेरी रोपिएका छन् । चिस्यान सुक्न नदिनका लागि ड्याङलाई प्लाष्टिकले छोपिएको छ । प्लाष्टिकलाई प्वाल पारेर त्यही प्वालमा ३० सेन्टिमिटरको दुरीमा स्ट्रबेरी रोपिएको गोल्यान एग्रो प्रालिका प्राविधिक बिवेक शुक्लाले बताए । ‘आफ्नै बेर्नाबाट उत्पादित ६ लाख बिरुवा रोपेका छौं’—उनले भने । कामारोजा, विन्टरडाउन, नेभिला र स्वीट्स सेसेसन गरी स्ट्रबेरी चार प्रकारको हुन्छ । चारै प्रकारका स्ट्रबेरीहरु त्यहाँ लगाइएको प्राविधिक शुक्लाले बताए ।

उनले भने— ‘गोलो खालको स्ट्रबेरी पनि फलाउने तयारी गर्दैछौं ।’ स्ट्रबेरीको लागि चिसो हावापानी उपयुक्त मानिन्छ । ‘तराईको हावापानी पनि उपयुक्त नै छ’ शुक्लाले भने ‘तर पनि जाडो मौसमको सदुपयोग गरी हिउँदमै फसल निकाल्ने तयारी गर्दैछौं ।’ करिब एक साता पछिबाट कम्पनीले स्ट्रबेरी ग्राहकसमक्ष पुर्याउने भएको छ ।

उत्पादित स्ट्रबेरी नेपाललगायत भारत, दुबई, कतारमा आपूर्ति गरिने कम्पनीका सीए नेत्र श्रेष्ठले बताए । उनका अनुसार यसको राम्रै माग भएको बजार अध्ययनले देखाएको छ । बजारमा हाल प्रति केजी ७०० रुपियाँका दरले स्ट्रबेरी बिक्री हुने गरेको छ । स्ट्रबेरी स्टकका लागि धमाधम कोल्डस्टोर निर्माण भइरहेको छ ।

गोल्यान कम्पनीले पूर्ण अर्गानिक रुपमा स्ट्रबेरी खेती गरेको जनाएको छ । ‘हामी बिषादी र रासायनिक मल प्रयोग गर्दैनौं’ प्राविधिक शुक्लाले प्रांगारिक मल देखाउदै भने ‘यो उखुको मल हामीले बीरगञ्जबाट ल्याएका हौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *