Sajhamanch Archive

विद्यालयमा कम्प्यूटर छ, शिक्षक छैनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

राजगढ । विद्यालयको कोठामा तीसवटा कम्प्यूटर छन् । कम्प्यूटर कोठाको ढोकामा दुईवटा ताल्चा लगाइएको छ । ढोका नखोलेको हप्तौं भइसक्यो । किनकि कम्प्यूटर सिकाउने शिक्षक छैनन् । बाह्रदशी १ को अमृत माध्यमिक विद्यालयलाई कम्प्यूटर शिक्षा सिकाउन बिभिन्न निकायहरुले ती कम्प्यूटर दिएका थिए । तर विद्यालयले विधार्थीहरुलाई नसिकाइ कोठामा कम्प्यूटर थन्क्याएर राखेको छ ।

‘कम्प्यूटर सिकाउने शिक्षक छैनन्’विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले भने,‘त्यही भएर थन्क्याएर राखेका हौं ।’विद्यालयले कक्षा ५,६,७ र ८ का विधार्थीहरुका लागि कम्प्यूटर बिषय राखेको छ । विधार्थीहरुले कम्प्यूटर हुँदाहुँदै सिक्न पाएका छैैनन् । किनकि उनीहरुलाई सिकाउने शिक्षक छैन ।

‘गाउँपालिकाले कम्प्यूटर शिक्षक नियुक्ति गरेको छ ’प्र.अ.बुढाथोकीले भने,‘तर ती शिक्षक १५ दिनमा एकचोटी आउनु हुन्छ ।’महिनामा दुईपटक आउने ती शिक्षकबाट विधार्थीहरुले खासै ब्यबहारिक ज्ञान लिन नसकेको उनले स्वीकार गरे । कम्प्यूटर हुँदाहुँदै चलाउन नपाएपछि सैद्धान्तिक पढाइबाट मात्र विधार्थीहरुले कम्प्यूटर बिषयको परिक्षा दिदै आएका छन् । गाउँपालिकासंग नियमित कम्प्यूटर शिक्षकको माग पटकपटक गरेपनि अहिलेसम्म सुनुवाई नभएको प्र.अ. बुढाथोकीले गुनासो गरे ।

‘निरन्तर कक्षा नहँदा विधार्थीहरुलाई कम्प्यूटर बिषयमा उत्तीर्ण गराउन गाह्रो भइरहेको छ’ शिक्षिका युवती राजवंशीले समस्या सुनाइन् । वडा कार्यालय, गाउँपालिका कार्यालय, प्रदेश सरकार र आई.सी.टी. कार्यक्रमबाट एउटा ल्यापटपसहित ३० वटा कम्प्यूटर विद्यालयलाई प्राप्त भएको हो ।

बाह्रदशी गाउँपालिकामा ५ वटा मावि सहित १६ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा कम्प्यूटर पढाउँनका लागि गाउँपालिकाले तीनजना घुम्ती शिक्षक नियुक्त गरेको छ । ‘तीन जना शिक्षकले गाउँपालिकाभरि भ्याउनु पर्छ ’शिक्षा अधिकृत ज्ञानबहादुर पौडेलले भने,‘त्यही भएर एउटा विद्यालयले बढी समय नपाएको हो ।’ उनले त्यसभन्दा बढी शिक्षक राख्ने क्षमता गाउँपालिकासंग नरहेको भन्दै सरकारले कम्प्यूटर शिक्षकको दरबन्दी दिन नसक्दा यो समस्या आएको तर्क गरे ।

कक्षा १० सम्म पढाइ भएपनि अमृत माविले कक्षा ९ र १० को स्वीकृति पाउन सकेको छैन । प्रस्तावित माविको रुपमा संचालन भएको दुई बर्ष भइसक्यो । कक्षा कोठाको पनि अभाव छ । ‘माविसम्मको दरबन्दी लिनका लागि प्रदेश सरकारकहाँ जान लागेका छौं,वडाध्यक्ष शम्भुसिंह राजवंशीले भने । कक्षा कोठाको लागि नयाँ भवन निर्माण भइरहेको छ । ‘भौतिक अबस्थाका कारणले गर्दा पनि अमृत माविमा राम्रो पढाइ नभएको हो’ शिक्षा अधिकृत पौडेलले भने,‘अब क्रमशः त्यसलाई सुधार गर्दै जानेछौं ।’२०२० सालमा प्रा.वि. केन्द्र नं.२ को नामले स्थापना भएको सो विद्यालय २०३९ सालमा निमावि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *