Sajhamanch Archive

जुटेन ओली–दाहालबीच सहमति

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुस २७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, बैठक बस्छ कि बस्दैन अझै टुंगो छैन ।

यसअघि पुस ११ र १६ गते दुईपटक बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

स्थगनको मुख्य कारण थियो, रिक्त सभामुख पदका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद । नेकपाले सभामुख नछानिसकेकाले २७ गतेको बैठक पनि अनिश्चित बनेको हो । किनकि नेकपाभित्र अझै सहमति बनिसकेको छैन ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले सभामुखमा दाबी छाडेका छैनन् ।

नेकपामा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले सभामुखका लागि दाबी गरेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले एक एक नेता बनाउनुपर्ने अडान राखेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको अडान वर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने रहेको स्रोत बताउँछ ।

उपसभामुख तुम्बाहाम्फेले पुस २७ गते आह्वान गरिएको बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने बताउँछिन् । तर, उनको अध्यक्षतामा सभामुख चयनको प्रक्रिया अघि बढ्ने सम्भावना न्यून रहेको नेकपाकै नेताहरु बताउँछन् ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङ उपसभाुख तुम्बाहम्फेले राजीनामा नदिँदा सभामुख चयन प्रक्रिया अवरुद्ध बनेको बताउँछन् ।

“उपसभामुखले राजीनामा नदिँदा समस्या भएको छ । उहाँले राजीनामा नदिँदा नेकपाले उम्मेदवारी दिन पाउँदैन,” गुरुङ भन्छन्, “नेकपाले सभामुखमा उम्मेदवारी दिने कुरा टुंगो भइसकेको छ । सिटै खाली नभएको अवस्थामा पात्रका बारेमा कुरा भएको छैन ।”

संविधानले सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार उपसभामुख तुम्बाहाम्फेले नै रहँदा नेकपाले सभामुखमा उमेदवारी दिन मिल्दैन ।

उपसभामुखले राजीनामा दिएपछि मात्र नेकपाले सभामुखको उम्मेदवार तय गर्ने गुरुङले बताए ।

प्रमेख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत नेकपाले सभामुखमा उम्मेदवारी दिने हो भने हालकी उपसभामुखको अध्यक्षतामा सभामुख चयनको प्रक्रिया अघि बढाउन नमिल्ने प्रधानमन्त्री केपी ओलीलाई भेटेरै बताइसकेको छ ।

पूर्वमाओवादी अडानले ओली समस्यामा

उपसभामुख तुम्बाहाम्फेले नेकपा संसदीय दलले औपचारिक रुपमा आफुलाई राजीनामा दिन भनेमा मार्गप्रशस्त गर्ने बताइसकेकी छन् ।

औपचारिक रुपमा आफुलाई नेकपाले केही नभनेको उनी बताउँछिन् ।

उपसभामुखले मार्गप्रशस्त गर्न भने पनि किन अहिलेसम्म राजीनामा आएन त रु पूर्वमाओवादी केन्द्रका एक नेता भन्छन्, “पूर्व एमालेका साथीहरु सभामुख आफैसँग राख्न चाहनुहुन्छ । उपसभामुखले राजीनामा दिँदा पूर्वमाओवादी हाबी हुने हो कि भन्ने त्रास उहाँहरुमा छ । त्यसैले राजीनामा गर्न उहाँहरुले नै रोकिराख्नुभएको छ ।”

उता पूर्वएमालेलाई सभामुख दिँदा प्रधानमन्त्रीसमेत हावी हुन नसक्ने अवस्था आउने स्रोतको दाबी छ । सभामुखको विषयमा सहमति खोज्न नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र ओलीबीच पटक–पटक छलफल भइसकेको छ ।

तर, पूर्वमाओवादीले यसअघि आफ्नो भागमा परेको सभामुख छाड्न नहुने अडान राखेपछि सहमति जुट्न सकेको छैन ।

स्रोतका अनुसार अध्यक्ष ओली पुर्वएमालेबाटै नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने दाहालको जोड सापकोटालाई सभामुख बनाउने छ । सभामुखको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेटेलगत्तै उनी आराम गर्ने भन्दै सापकोटाकै निर्वाचन क्षेत्र कदमबास पुगेका थिए ।

दाहालले सिन्धुपाल्चोक गएर ओलीलाई आफुले सभामुख नछाड्ने सन्देश दिन खोजेको दाहाल निकटस्थ बताउँछन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *