Sajhamanch Archive

उपसभामुख तुम्बाहाङ्फे प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई भेट्न बालुवाटारमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेकी छन्।

आज बिहान पौने १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकी तुम्बाहाङ्फे र दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएको दाबी स्रोतले गरेको छ।रिक्त प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेका बेला तुम्बाहाङ्फेलाई बोलाएर दुई अध्यक्षले वार्ता गरेका हुन्।

गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएसँगै रिक्त सभामुख पदमा अड्किएको गाँठो फुकाउन दुई अध्यक्षले तुम्बाहाङ्फेसँग वार्ता गरेका हुन्। सभामुखमा पहिलो दाबी प्रस्तुत गर्दै आएकी तुम्बाहाङ्फेलाई दुई अध्यक्षले यसअघि नै बाटो खोलिदिन आग्रह गरिसकेका छन्। तर उनले महराको गल्तीको दोष आफूलाई नदिन आग्रह गर्दै सभामुखको पहिलो दाबेदारका रुपमा आफैँलाई प्रस्तुत गरिरहेकी छन्।

यदि उपसभामुख पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उनलाई दिएका छन्। तर उनले आफूले कुनै गल्ती नगरेको अवस्थामा सभामुख आफैँ हुनुपर्ने अडान राखेपछि नेकपाभित्र सभामुखको गाँठो झन् अड्किएको छ। नेकपामा सभामुखका लागि सुवास नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङ र ओनसरी घर्तीसहितले दाबी गर्दै आएका छन्। अध्यक्ष ओली नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने दाहाल सापकोटाको पक्षमा उभिएका छन्।

तुम्बाहाङ्फेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी उभिएको बताइन्छ। यसअघि गत पुस ४ गते प्रतिनिधि सभाको हिउँदे अधिवेशनको सुरुवात उपभामुख तुम्बाहाङ्फेले नै गरेकी थिइन्। त्यसपछि पुस नौमा बस्ने भनेको प्रतिनिधिसभा पुस १७ हुँदै २७ गतेसम्मका लागि स्थगित भएको छ।

दुई अध्यक्षले पुस २७ अगावै सभामुखको उम्मेदवारको टुंगो लगाउने गरी उपभामुखसँग सम्वाद गरेका हुन्। पुस २७ मा बस्ने प्रतिनिधि सभा बैठकबाट सभामुख निर्वाचन अघि बढाउने योजना छ। नेकपाले सभामुख आफु राखेर उपसभामुख सत्तासाझेदार अर्को दललाई दिने तयारी गरेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *