सरकारी अस्पतालमा शौचालयको कन्तविजोग
Published:
by .काठमाडौं । कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् ।
कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’
वीर अस्पतालकै विजोग
नेपालकै सबैभन्दा पुरानो र सरकारको प्राथमिकतामा परेको अस्पताल हो महाबौद्धस्थित वीर अस्पताल । वीरमा देशभरिबाट दैनिक दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् । तर सरकारको सबैभन्दा जेठो र प्राथमिकतामा रहेको यही वीर अस्पतालमै शौचालयको अवस्था नाजुक छ ।
वीर अस्पतालमा रहेका शौचालयमा गएर दिसा वा पिसाब गर्न सक्ने अवस्था छैन । विगतमा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालको शौचालयबाट सरकारी अस्पतालको सुधार अभियान थाल्नुभएको थियो । तर अहिले त्यही वीर अस्पतालमा रहेको शौचालयमा गएर दिसा, पिसाब गर्न सक्ने अवस्था छैन ।
वीर अस्पतालमा उपचार गर्न आउनुभएका दोर्जी शेर्पा भन्नुहुन्छ, ‘‘सरकारी अस्पताल सुधार गर्ने हो भने शौचालयबाट गर्दा राम्रो हुन्छ तर विडम्बना जुनसुकै सरकारी अस्पतालका शौचालयको हालत दुर्गन्धमय छ ।’’ वीर अस्पतालको भुइँतलास्थित शौचालयमा न बत्तीको सुविधा छ न त पानीको सुविधा नै छ । पानी बत्ती मात्र होइन त्यहाँको शौचालयमा चुकुलको समेत व्यवस्था छैन । अस्पताल जाने बिरामीहरू बाध्यताले मात्र शौचालयको प्रयोग गर्छन् । ‘‘त्यस्तो ठाउँमा बिरामी तथा बिरामीका आफन्तले कसरी शौच गर्न सक्छन ?,’’ शेर्पाको प्रश्न छ ।
वीर अस्पतालमै एकतलामाथि रहेको पुरुष शौचालयमाथि फोहोरको थुप्रो छ । शौचालयमा पानी आउँदैन, प्लास्टिक, सुर्ती र खैनीका खोल प्रशस्त मात्रामा छन् । शौच गर्न सक्ने अवस्था छैन । यस्तै पिसाब फेर्ने ठाउँभन्दा माथि पान खाएर थुकेको छ । शौचालय दुर्गन्धित छ । वीर अस्पतालमा नेपालभरिबाट उपचार गर्न बिरामीहरू आउने गर्छन् । गोरखापत्र दैनिकबाट ।
Comments