Sajhamanch Archive

गीतको सफलताको फाइदा ‘म यस्तो गीत गाउँछु २’ ले उठाउला ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

फिल्मको व्यापारमा गीतको पनि ठूलो योगदान रहने गर्दछ । रिलिजपूर्व गीतले लोकप्रियता हासिल गर्न सफल भएको खण्डमा त्यसको प्रभाव बक्सअफिसमा पनि पर्छ ।

गीतका कारण फिल्मको इनिसियल व्यापार राम्रो भएका धेरै उदाहरण छन् । ‘नाईं नभन्नु ल’, ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ लगायतका फिल्मको सिरिजको सुरुवाती व्यापारमा गीतको ठूलो योगदान रहेको थियो ।

गीत हिट भएको खण्डमा फिल्म हेर्न दर्शक हलसम्म पुग्ने सोचाईका कारण पछिल्लो समय निर्माता-निर्देशकहरु कथाभन्दा ज्यादा गीतमा बढी मिहिनेत गर्ने गरेका छन् । ‘छक्का पञ्जा’ को ‘पूर्व पश्चिम रेल’ पछि नेपाली फिल्ममा लोक फ्लेवरको गीतको दबदबा छ । अहिले लोक फ्लेवरको गीत नराखिएको कुनै नेपाली फिल्म भेटिन्न । कथाको माग नभए पनि जबरजस्ती रुपमा गीत राखिन्छ ।

कथाको माग अनुसार फिल्मका लागि राम्रो गीत छान्न सक्नु पनि एक निर्देशक तथा निर्माताको खुबी हो । निर्देशक सुदर्शन थापामा यो खुबी छ । उनी मनछुने लभस्टोरी फिल्म पस्कन जति माहिर मानिन्छन्, गीत छान्न पनि उस्तै सिपालु छन् । उनी आफैं पनि राम्रा गीतकार हुन् । ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’ बोलको गीत उनी आफैंले लेखेका हुन् । तर, उनी कमै गीत लेख्छन् ।

आफ्नो नामलाई ब्रान्ड बनाइसकेका निर्देशक सुदर्शन थापा निर्देशित नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले क्याप्टेनसिप सम्हालेका कारण पनि यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । फिल्मलाई प्रदर्शन अगावै ‘स्योर सट हिट’ भनिन थालिएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचार-प्रसारलाई तिव्र बनाइएको छ । फिल्मको दुई गीत ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ अहिले चर्चाको शिखरमा छ । सुदर्शन निर्देशित अघिल्ला फिल्मका गीतझैँ यो फिल्मका गीत पनि जबरजस्त हिट भएका छन् । ‘तिम्रो घरको वरिपरि’ लाई ५५ लाख र ‘दुःखको काँडा’ गीतलाई यूट्युबमा १२ लाखभन्दा बढीले हेरिसकेका छन् ।

यूट्युबको कमेन्ट बक्समा यी दुई गीतलाई नराम्रो लेख्ने कमै छन् । अडियो र भिडियो दुवै बलियो रहेको गीतको भिडियोमा फिचर्ड पल र पूजाको जोडीलाई दर्शकले निकै रुचाएका छन् । ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ गीतले फिल्मको हाइप निर्माणमा पनि ठूलो भूमिका खेलेको छ । गीतले पाएको सफलता हेर्दा फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ ।

गीत लोकप्रिय हुँदै गर्दा निर्माण टिममाथि चुनौती पनि थपिएको छ । गीतका कारण दर्शकको फिल्मप्रति जुन प्रकारको आशा र अपेक्षा बढेको छ, त्यसमा खरो उत्रन निर्माण टिमका लागि सहज अवश्य छैन । साथै, ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण दर्शकको फिल्मप्रति चरम उत्साह छ । निर्देशक सुदर्शन थापा फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् ।

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन छ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

 

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *