प्रियंकाको मस्ती मुड
Published: (Updated: )
by .विवाह हुने निश्चित भएपछि आफ्ना घनिष्ट साथीका निम्ति सहपाठीहरूले ब्याचलर पार्टी आयोजना गर्दछन् । किनभने, बिहे भएपछि साथीभाइसँग संगत र भेटघाट पातलिनेछ । साथीहरू क्रमशः मस्तिष्कबाट विस्मृत हुँदै जानेछन् । त्यसैले युवावयमा नङ र मासुजस्तै जोडिएका उनीहरू आफ्नो सम्बन्धको एउटा अध्याय पूरा भएको संकेतस्वरूप ‘ब्याचलर पार्टी’ मनाउने गर्दछन् ।
पछिल्लो समय सहरी क्षेत्रमा ब्याचलर पार्टीको लहर चलेको छ । साथीको विवाह हुने टुंगो भएपछि सहपाठीहरु पैसा जम्मा गरेर सम्भावित दुलाहा वा दुलहीलाई ‘सरप्राइज्ड पार्टी’ दिने गर्दछन् । अभिनेत्री प्रियंका कार्की पनि अहिले आफ्ना केही निकट साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्डमा छिन् । मिडियामा उनको ‘ब्याचलर पार्टी’ ले गजबकै चर्चा पाइरहेको छ ।
प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु साझेदार गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् ।
सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् । अभिनेत्री कार्कीले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् । अभिनेत्री प्रियंका कार्की चाँडै आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् ।
दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान गएको असारमा बिहे गर्ने तयारीमा थिए । तर, पारिवारिक सदस्यहरुको समय नमिलेपछि विवाह टर्यो । गएको महिना अभिनेत्री प्रियंकाले यस वर्ष विवाह नहुने जानकारी दिएकी थिइन् । तर, उनी साथीहरुसँग थाइल्यान्डमा ब्याचलर पार्टी मनाउन पुगेपछि उनले यसै वर्षको फागुनमा बिहे गर्न लागेको चर्चा चलेको छ ।
फिल्मीखबर
Comments