Sajhamanch Archive

साम्राज्ञी प्रदीपको पखाईमा

Published: (Updated: ) in टिप्स/जानकारी by .

नेपाली फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवात प्रभावशाली थियो । अभिनेता अनमोल केसीसँग ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यू गरे पनि फिल्म रिलिजपछि भने अनमोलको भन्दा धेरै चर्चा साम्राज्ञीको भयो । उनको सशक्त अभिनयको अगाडि अनमोल छाँयामा परे । फिल्म सफलताको क्रेडिट पनि उनले राम्रै पाइन् । यसपछि उनले फिल्म ‘ए मेरो हजुर २’ मा काम गरिन् ।

यो फिल्म पनि बक्सअफिसमा हिट सावित भयो । यसपछि उनलाई नेपाली फिल्मकी ‘नम्बर वान’ अभिनेत्रीको पगरी नै गुथाइयो । उनले पूरै फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेत्रीको रुपमा आफूलाई उभ्याइन् । तर, उनको स्टारडमले हलमा दर्शक तान्न सक्छ भन्ने चर्चा सुरु हुँदै गर्दा उनका एकपछि अर्का फिल्मले हलमा घुँटा टेक्न थाले । त्यो शिलशिला अझै रोकिएको छैन ।

‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ छाड्ने हो भने उनले आफ्नो काँधमा बोकेका कुनै फिल्मले निर्मातालाई मुनाफा दिलाएका छैनन् । उनी अभिनीत ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ फिल्म बक्सअफिस चल्न सकेनन् । लगातार फिल्म असफल हुन थालेपछि अहिले साम्राज्ञी नराम्रोसँग हच्किएकी छन् । उनी अब हतारमा फिल्म गर्ने मनस्थितिमा छैनन् ।

‘रातो टीका निधारमा’ भन्दा अगाडि उनले हेमराज विसीको फिल्म साइन गरेकी थिइन्, १६ लाख पारिश्रमिकमा । तर, यो फिल्म लामो समय बन्ने या नबन्ने भन्नेमै अन्योलता थियो । अब भने यो फिल्म बन्ने भएको छ । यसमा साम्राज्ञीको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । अभिनेता प्रदीपले ‘प्रेमगीत ३’ को छायांकन भ्याएपछि यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

पहिलो पटक प्रदीप र साम्राज्ञीले स्क्रिन साझेदारी गर्न लागेका कारण यो फिल्मको निर्माण अगावैदेखि दर्शकमा प्रतिक्षा भैरहेको छ । अभिनेत्री साम्राज्ञी निर्देशक विसीको प्रोजेक्टभन्दा अगाडि अर्को फिल्म गर्ने मनस्थितिमा नभएको बुझिएको छ । उनी यो फिल्मले आफ्नो धरमराएको करिअरलाई सही दिशा दिनेमा आशावादी छिन् । के फाप्ला त साम्राज्ञीलाई प्रदीपसँगको सहकार्य ?

 

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *