Sajhamanch Archive

पाँचौ पटक बाँधियो पूजा र आकाशको जोडी

Published: (Updated: ) in टिप्स/जानकारी by .

‘रामकहानी’ पछि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले लगातार फिल्म गरिरहेका छन् । यस वर्षको कात्तिकमा यी दुई अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो । उनीहरुको नयाँ दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ अर्को वर्ष प्रदर्शनमा आउने सम्भावना छ । योसँगै ‘पुआ’ जोडीलाई फेरि एकपटक दर्शकले पर्दामा हेर्न पाउने भएका छन् ।

आकाश र पूजाले अभिनय गर्ने पाँचौ फिल्म ‘मन परेसी’ को आज सरस्वती पूजाको शुभ अवसरमा भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । ‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् ।

अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेमबहादुर घर्ती सह निर्मातामा रहेका छन् । फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् । हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछानेररविन शाहको कोरियोग्राफी रहनेछ ।

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन् । भने, संजोग राणाले फिल्मको संवाद तयार पारेका हुन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने फिल्मको माघ तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजको छेकोमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

‘मन परेसी’ को नाम यसअघि ‘मन परेसी पर्‍यो पर्‍यो’ राखिएको थियो । गएको महिना पूजा र आकाश यो फिल्ममा अनुबन्ध भएको खबर बाहिरिएको थियो । तर, अभिनेत्री पूजाले यो कुरा नकारेकी थिइन् । निर्माताले २० लाखबाट पारिश्रमिक बढाएर २५ लाख पुर्‍याएपछि उनी फिल्म गर्न राजी भएको स्रोतले जानकारी दिएको छ । उनले यो फिल्म पैसाको मुख हेरेर गर्न लागेको चर्चा छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *