Sajhamanch Archive

१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारका मनोनयन सूचीमा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाण्डौ । स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १६ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् ।

लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो ।’

यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् ।

नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।

शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गरिँदै छ । थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तरगत यो प्रदर्शन गरिएको हो । आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गले दावी गरेकी छन् ।

थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद अगाडि पहिलोपटक आफ्नो समुहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।

गत डिसेम्बरमा पोल्यान्डमा आयोजित राष्ट्रसंघीय जलवायू वार्तामा सम्वोधन गर्ने मौका पाएपछि उनीप्रति विश्व समुदायको ध्यानाकृष्ट भएको थियो । यसैगरी जनवरीमा उनले डाभोसमा आयोजित वल्र्ड ईकोनोमिक फोरममा पनि सम्वोधन गरिन् ।

नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अफिसियल, प्राज्ञ तथा विगतका विजेताहरुले सम्भावित व्यक्तिहरुको मनोनयन गर्न सक्छन् । यो पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ । नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कार वितरण गरिन्छ । सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेका छन् जसमध्ये २२३ व्यक्ति र ७८ संस्था छन् ।

नोबेल पुरस्कारको लागि मनोनयन र छनोट यसरी गरिन्छ–

राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, बौद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन् ।

नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *