Sajhamanch Archive

कोरोनाले हङकङमा एकजनाको ज्यान लियो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

हङकङ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए ।

उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै आज बिहान मृत्यु भएको हो । हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए । मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

यस भाइरसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।

हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताउनुभएको छ । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।

यस अघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” डब्लुएचओको भनाई छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *