Sajhamanch Archive

रंगशालामा गीत खिचियो, ‘सक्कीगोनि’ मा प्रचार

Published: (Updated: ) in टिप्स/जानकारी by .

महाशिवरात्रीको अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चर्चित हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा खिचिएको छ । फिल्मको कथाको मागअनुसार गीतको छायांकन गरिएको निर्माण टिमले बताएको छ ।

गीतमा फिल्मका प्रमुख कलाकारहरु कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सन विक्रम राईलगायतलाई देख्न सकिनेछ । गीतको भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीका नेता तथा कार्यकर्ताबीचको झै-झगडालाई देखाइएको छ । यो गीतले फिल्मको मूल मर्म बोल्ने अभिनेत्री कुञ्जना घिमिरेले बताइन् । ‘सेन्टी भाइरस’ राजनीतिले परिवारमा ल्याउने द्वन्द्वमा आधारित छ ।

कलाकारिता हुँदै २०७२ सालमा आएको महाभूकम्पपछि सामाजिक कार्यमा सक्रिय ‘धुर्मुस सुन्तली’ को अभिनय रहेका कारण यो फिल्मको दर्शकमाझ व्यग्र प्रतिक्षा भैरहेको छ । ‘मेरी बाँस्सै’ हास्यटेलिश्रृंखलामा एकसाथ अभिनय गरे पनि यो जोडीले फिल्ममा भने सँगै काम गरेको थिएन । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका कारण ‘सेन्टी भाइरस’ प्रति अपेक्षा पनि उच्च छ ।

फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

‘सक्कीगोनि’ मा ‘सेन्टी भाइरस’ को प्रचार

अहिलेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्कीगोनि’ नेपाली फिल्म प्रचारका लागि ठूलो प्ल्याटफर्म मानिन्छ । यो हास्य टेलिश्रृंखलामा फिल्मको प्रचार गर्न नेपाली निर्माताबीच हानाथाप हुने गरेको छ । तर, यसमा फिल्मको प्रचार गर्न सानातिना ब्यानरले भने सक्दैनन् । ‘सक्कीगोनि’ टिमले फिल्म प्रचारका लागि मोटो रकम लिने भएका कारण ठूलो ब्यानरले मात्र यो आँट जुटाउँछन् ।

‘सेन्टी भाइरस’ टिमले पनि फिल्म प्रचारका लागि ‘सक्कीगोनि’ हास्य टेलिश्रृंखलाको सहारा लिएको छ । तर, यसमा फिल्मको प्रचार गर्न अरु निर्माताले जस्तो कलाकार सिताराम कट्टेलले पैसा भने तिरेका छैनन् । यो हास्य टेलिश्रृंखलाका हर्ताकर्ता नै उनका भाई कुमार कट्टेल ‘जिग्री’ हुन् । चितवनमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पनि ‘सक्कीगोनि’ टिम खटिँदै आएको छ ।

यो हास्य टेलिसिरियलको नयाँ भागमा कलाकार द्वय सिराताम कट्टेल र दयाहाङ राई फिल्मको प्रचार गर्दै देखिनेछन् । सितारामले ‘सक्कीगोनि’ सेटमा खिचेको तस्विर आफ्नो आधिकारिक फेसबुक पेजमा साझेदार गर्दै लेखेका छन्, ‘हेर्नुस् है यो हप्ता, केही फरक पाउनुुहुनेछ ।’ यो हास्य टेलिश्रृंखलाको माध्यमबाट फिल्मको प्रचारमा ठूलो सहयोग पुग्ने विश्वास निर्माण टिमको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *