Sajhamanch Archive

बुद्धशान्तिमा नकाउनट फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by .

बुद्धशान्ति । बुद्धशान्तिमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ। गाउँपालिका वडा नं. ४ सट्टाभर्नामा सृजनशिल युवा समाजको आयोजनामा नकआउट फुटबाल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्ला फुटबल संघ झापा र रेफ्री संघ झापाको प्राविधिक सहयोग रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

यही फागुन २२ गतेदेखि चैत १ गतेसम्म आयोजना हुने फुटबल प्रतियोगिता स्थानीय गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने बुधबार जानकारी दिइएको हो ।

फुटबलको माध्यमबाट सामाजिक विकृति, कुसंस्कार, वेथिति हटाउन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीयस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउनुका साथै युवा पुस्तालाई सिपमुलक तालिम सिकाई स्वरोजगार बनाउन सहयोग गर्ने प्रतियोगिताको लक्ष्य रहेको जनाइएको छ । झापा र इलामका १० टोलीले सहभागिता जनाउने प्रतियोगिताको तयारी ६० प्रतिशत काम सकिएको आयोजक समितिका अध्यक्ष शुकराज कार्कीले जानकारी गराए ।

प्रतियोगितामा झापाका चर्चित खेलाडीले भरिएको फुटबल क्लव अन्तर्गत न्यूस्टार क्लब खोपवाडी, रोलिङ क्लब धुलाबारी, मुनाल क्लब चन्द्रगढी, शनिश्चरे फुटबल क्लब, शिवसताक्षी फुटबल क्लब, आदर्श युवा क्लब, झापा फुटबल क्लब, पूर्वेली युवा क्लब, इलामको फिक्कल फुटबल क्लव र आयोजक सृजनशिल युवा समाज रहेको छ ।

सहभागी फुटबल क्लवबाट राष्ट्रिय स्तरका खेलाडीसमेत खेलमा उत्रने खेल संयोजक नरेश जवेगु ९लिम्बू०ले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार स्थानीयबासी तथा रोजगारीको शिलशिलामा साउदी अरेवियामा रहेका सोनी कार्कीले गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन्द्र भट्टराईले बताए ।

यसका साथै प्रतियोगिताको विभिन्न विधाका पुरस्कार अमेरिकाबाट एसटी तामाङले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उप–विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सहसचिव निर्मल पराजुलीले जनाए ।

प्रतियोगिताको फाइनल अघि रक्तदान कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसका साथै बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने र प्रत्येक दिनको फुटबल हेर्ने दर्शकको संख्या ३ हजार बढी हुने आयोजकले अपेक्षा राखेको छ ।

प्रतियोगिता सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिका, चार नम्वर वडा कार्यालय, विभिन्न संघ–संस्था र व्यापारिक संस्थाले आर्थिक सहयोग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *