Sajhamanch Archive

बन्धक बनाएर लागु औषधको नशा दिइयो र बलात्कार गरियो

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् ।

उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता यही हो ।’ ‘मलाई केही दिनका लागि बन्धक बनाइयो, लागुऔषध दिइयो र बलात्कार गरियो,’ उनले लेखेकी छिन् । डफीको एल्बम ‘रकफेरी’ ६ देशमा उत्कृष्ट साबित भयो । उनले तीनपटक ब्रीट अवार्ड पनि जितिन्, यसका साथै ग्रामी अवार्ड पनि हात पारिन् ।

‘मैले निकै अघिदेखि यसबारे लेख्ने सोचेकी थिएँ । मैले कतिपटक सोचेँ होला, तपाईंहरुले अनुमान मात्रै गर्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखिन् । ‘तर यो कुरा भन्न मैले यो समयलाई नै किन सही ठानेँ, त्यसको जवाफ मसँग छैन । यसबारे कुरा गर्दा आफूले आफैंलाई एक प्रकारको तनावबाट मुक्त हुने मैले सोचेकी छु ।’

‘म यसबारे विस्तृत रुपमा बताउन सक्दिनँ । कतिलाई लाग्दो हो, खासमा मलाई भएको चाहिँ के हो, म कता हराएँ र किन । मलाई एक पत्रकारले सम्पर्क गरे, उनले मलाई भेट्ने बाटो पत्ता लगाए र मैले उनलाई आफ्नो बारे सबै कुरा जानकारी दिएँ । उनी निकै दयालु थिए तसर्थ यसबारे कुरा गर्न जुन आँट मैले बटुलेँ त्यो निकै अभूतपूर्व छ ।’

‘वास्तविकता यो हो कि म अहिले ठिक छु र सुरक्षित पनि । मलाई केही दिनका लागि बन्धक बनाइयो । मलाई लागुऔषध दिइयो र बलात्कार गरियो । पक्कै पनि म बाँच्न त बाँचे । निको हुन धेरै नै समय लाग्यो । मैले पछिल्लो एक दशकदेखि हज्जारौं दिनसम्म मनमा प्रकाश ल्याउन चाहिरहेको थिएँ, अब भने सूर्य उदाएको छ ।’

वास्तविक नाम एइमी एने डफी भएकी डफीको मर्सी नामको गीत १२ देशमा सर्वोत्कृष्ट साबित भयो । यो गीत सन् २००८ को युकेको ‘थर्ड बेस्ट सेलिङ सिंगल’ हो । यसको पाँच लाख प्रति बिकेको थियो ।‘तपाईंले सोचिरहनुभएको होला कि मैले आफ्नो पीडा व्यक्त गर्न आफ्नो आवाज किन प्रयोग गरिनँ ? मैले संसारलाई आफ्नो आँखाको पीडा देखाउन चाहिनँ,’ उनले थपिन् ।

‘त्यसपछि मैले के सोचेँ भने यदि मेरो मन नै भाँच्चिएको छ भने म कसरी मनबाट गाउन सक्छु ? ’‘यदि तपाईंका केही प्रश्न छन् भने म अन्तरवार्तामार्फत् जवाफ दिन चाहन्छु । मलाई यत्तिका वर्षसम्म तपाईंले जुन माया र सद्भाव देखाउनुभयो त्यसप्रति म कृतज्ञ छु । म यसका लागि तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’ ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *