Sajhamanch Archive

म यस्तो गीत गाउँछु २’ सर्दा कसलाई भयो फाइदा ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

छायांकन सुरु हुनुभन्दा अगावै सुदर्शन थापाले फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति फागुन २३ गतेलाई घोषणा गरेका थिए । तर, यही मितिमा बलिउडको ठूलो फिल्म ‘बागी ३’ आउने भएपछि सुदर्शनले भिड्ने आँट गरेनन् । र, एक हप्ता पछाडि सार्दै फागुन ३० गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरे । फिल्मको प्रचार-प्रसार जोडतोडले भैरहँदा फेरि फिल्म सर्‍यो ।

यसपटक कुनै विदेशी फिल्मको डरले सुदर्शनले फिल्म सारेका होइनन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण उनी फिल्मको प्रदर्शन स्थगित गर्न बाध्य भएका हुन् । स्थिति सामान्य नभएसम्म अब यो फिल्म प्रदर्शनमा आउने छैन । अर्को वर्षको जेठमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ । अहिले सुदर्शन वितरकसँग छलफलमा व्यस्त छन् ।

दुई पटक फिल्म सार्नु पर्दा निर्माता द्वय सुदर्शन थापा र पूजा शर्मालाई ठूलो आर्थिक क्षति भएको छ । उनीहरुले अहिलेसम्म फिल्मको प्रचार(प्रसारमा मोटो रकम खर्च गरिसकेका छन् । अब, नयाँ प्रदर्शन मिति घोषणा गर्दा फेरि उनीहरुले प्रचारमा मोटो रकम खर्च गर्नुपर्नेछ । नयाँ मितिमा फिल्मको हाइप निर्माण गर्न पनि निर्माण टिमलाई सोचेजस्तो सहज हुने देखिएको छैन ।

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति सर्दा सुदर्शन र पूजाले ठूलो घाटा बेहोर्नु परे पनि अभिनेता पल शाहलाई भने एक हिसाबले फाइदा भएको छ । उनी यो फिल्म प्रदर्शन नहुँदै दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘२ नम्बरी’ मा अनुबन्ध भएका थिए । यो फिल्मको छायांकन भोलीबाट सुरु हुँदैछ । फिल्ममा उनको जोडी अभिनेत्री वर्षा राउतसँग बाँधिएको छ ।

‘म यस्तो गीत गाउँछु २’ फागुन ३० बाट नसरेको भए पल यतिबेला फिल्मको प्रचार(प्रसारमा विहान-बेलुकै दौडिरहनु पर्थ्यो । यो फिल्म प्रदर्शन नभएसम्म उनले ‘२ नम्बरी’ को सुटिङ सेट ज्वाइन गर्न भ्याउँदैन थिए । तर, कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएपछि पलले अब ढुक्कसँग ‘२ नम्बरी’ को छायांकन गर्न पाउने भएका छन् ।

‘म यस्तो गीत गाउँछु २’ को रिलिज पोस्टपोन्ड हुँदा पल शाहलाई फाइदासँगै चिन्ता पनि थपिएको छ । अब, यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ । यसो हुँदा उनको अर्को वर्ष ‘म यस्तो गीत गाउँछु २’, ‘२ नम्बरी’ र ‘हृदय भरी’ गरि तीन फिल्म प्रदर्शन हुनेछन् । अर्को वर्ष तीन फिल्मको प्रचारमा कसरी समय व्यवस्थापन गर्ने भन्ने चिन्ताले पललाई अहिलेदेखि नै सताउन थालेको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *