Sajhamanch Archive

जिल्लामै छुट्टिन थाले देउवा र शशांक गुट

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ।

जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो।

विवाद बढ्दै गएपछि जिल्ला कार्यसमितिमा निर्वाचितहरूले नै सभापति शेरबहादुर देउवाको प्यानल छोडेका छन् । ‘हामी यो त्यो प्यानलको भन्दा पनि नेपाली कांग्रेस हौँ,’ देउवा प्यानल छोड्ने मध्येका एक सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले भने, ‘विधान मिच्‍न पाइँदैन, हामी केन्द्रीय सभापतिले तोकेको सभापतिलाई मान्दैनौँ।’ जिल्ला कार्यसमितिमा निर्वाचित १५ जनाले देउवा प्यानल छोडेको बताएका छन्।

देउवाको प्यानल छोड्नेमा पूर्व-सांसद विक्रम खनाललगायत छन्। त्यस्तै, अहिले हटाइएका अर्जुन पोखरेल पनि देउवाकै सिफारिसमा सभापति बनेका थिए। उनले पनि अहिले देउवाको प्यानल छोडेका छन्। जिल्ला पार्र्टी प्रवक्ता कुलदीप आचार्य, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ता, जिल्ला सचिव विक्रम यादव लगायतले देउवाको प्यानल छोडेका हुन्।

‘अधिवेशनको मिति घोषणा गरिसकेपछि सभापति हेरफेर गरिरहन जरुरी छैन,’ पूर्व-सांसद खनालले भने, ‘कार्यविधिका आधारमा,विधानका आधारमा अर्जुन पोखरेल नै कांग्रेसको सभापति हो। केन्द्रीय सभापतिले धारा २५ को उपधारा ७ सभापति बनाउने जस्तो महत्वपूर्ण काम गर्न आकर्षित हुँदैन। सभापतिज्यूले यो सच्याउनुपर्छ।’

नवलपरासी जिल्ला विभाजन भएपछि तत्कालीन पार्टी सभापति विष्णु लामिछानेले पूर्वी नवलपरासीको सभापति रोजेपछि पश्चिम नवलपरासीका तत्कालीन उपसभापति अर्जुन पोख्रेलले कार्यबहाक सभापति पाएका थिए। जिल्ला सभापति परिवर्तन गरेपछि गृह जिल्ला नवलपरासी रहेका महामन्त्री शशांक कोइरालाले पत्र लेखेर देउवालाई निर्णय सच्याउन आग्रह गरिसकेका छन्।

शेखरसँग विश्वप्रकाशमार्फत देउवाको दोहोरी

  गत फागुन ३० गते कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि गोरखा पुगेका केन्द्रीय सदस्य शेखर कोइरालालाई प्रशिक्षण कार्यक्रम रोक्न कांग्रेसका प्रवक्‍ता विश्वप्रकाश शर्माले फोन गर्दै प्रशिक्षण नगर्न निर्देशन दिए। सभापति देउवाको निर्देशनमा शेखरलाई फोन गर्दै प्रवक्‍ता शर्माले कोरोना भाइरसको बारेमा केही बोलेर कार्यक्रम टुंग्याउन भनेका थिए।

प्रवक्‍ता शर्मालाई त्यसको भोलिपल्टै गोरखाका सञ्चारकर्मीहरूमाझ नेता शेखरले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण र सतर्कताबारे आफूलाई थाहा भएकोले प्रवक्ताले सिकाइराख्नु नपर्ने बताउँदै जवाफ फर्काए। नेपाली कांग्रेसको तर्फबाट प्रवक्‍ता शर्माले गत फागुन २१ गते सानेपामा पत्रकार सम्मेलन गरी अर्काे सूचना जारी नहुँदासम्म पार्टीका सबै कार्यक्रम स्थगित गरिएको जनाएका थिए।

तर, २०७७ फागुनमा हुने १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका शेखर अहिले जिल्ला दौडाहमा छन्।  गोरखाबाटै शेखरले सभापति देउवाकै कारणले पार्टी विधि र विधानअनुसार चल्न नसकेको पनि बताए। १३औँ महाधिवेशनबाट सभापति निर्वाचित देउवाले आफ्नो नियमित कार्यकाल सकिनै लाग्दा विभाग गठन, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय मनोनीत गरेपछि कांग्रेसमा विवादले उग्ररूप लिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला लगायतले देउवालाई पछिल्लो निर्णयमा पुनर्विचार गर्न पनि भनिसकेका छन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *