टेकु अस्पतालले भन्यो, ‘कोरोना संक्रमित युवतीको अवस्था जटिल छैन’
Published:
by .काठमाडौं । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आम नागरिकमा चिन्ता जागेको छ ।
कोरोना संक्रमण देखिएकी युवतीको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भने संक्रमित बिरामीको अवस्था जटिल नरहेको बताउँदै कसैले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि अवस्था जटिल नभएको अस्पतालले बताएको छ ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले उनीमा भाइरस देखिए पनि अवस्था जटिल नभएको बताएका छन् । राजभण्डारीले भने, ‘उहाँको केस आत्तिनु पर्ने खालको छैन, उहाँमा निमोनिया नदेखिएकाले निको पार्न सकिने अवस्था छ ।’
उनको उपचारमा चिकित्सकले अजिथ्रोमाइसिन लगायतका एन्टीबायोटिक औषधि चलाएको उनले जानकारी गराएका छन् । उनी ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन् ।
उनीसँग सम्पर्कमा राखेका केहिलाई समेत आइसोलेसनमा राखिएको र सम्भावित सम्पर्कमा रहेका हुनसक्ने आशंका गरिएको अन्य व्यक्तिहरुको खोजी समेत भइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताइसकेका छन् ।
Comments